६ चैत्र २०८०, मंगलवार

विष्ट र झाँक्रीको प्रतिस्पर्धा रोचक गुल्मी-२ मा

ram kumari gokarna bista

लामो समयदेखिका सहयात्री नै चुनावी प्रतिस्पर्धामा उत्रिएपछि गुल्मीको क्षेत्र नम्बर २ को चुनावी रौनक निकै चुलिएको छ । पहिले एउटै पार्टीमा रहेका नेता अहिले फरक फरक पार्टीबाट उम्मेदवार बनेर मत माग्न थालेपछि मतदाता आपसी मन्थनमा जुटेका छन्।

विगतमा एमालेभित्र पनि एउटै समूहमा रहेर काम गरेका गोकर्ण विष्ट र रामकुमारी झाँक्री अहिले गुल्मी-२ बाट चुनावी प्रतिस्पर्धामा छन् । विष्ट एमाले र झाँक्री एकीकृत समाजवादीका सचिव हुन् ।  

अनेरास्ववियुबाट स्थापित झाँक्री पहिलो पटक ५ दलिय सत्ता गठबन्धनको साथ लिएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेकी छन् ।  ०७४ मा समानुपातिकबाट सांसद बनेकी झाँक्री केही महिना सहरी विकास मन्त्री भएकी थिइन् ।  

२०५६ देखि चुनाव लडेका विष्टको प्रतिनिधिसभामा यो पाँचौँ पटकको उम्मेदवारी हो । २०६४ मा तत्कालीन माओवादीसँग पराजित भए पनि विष्टले ३ पटक प्रतिनिधिसभामा पुग्ने अवसर पाए । उनी उर्जामन्त्री बन्दा विद्युतीय बक्यौता असुली र विस्तार एवं श्रम तथा रोजगार मन्त्री बन्दा ७ वटै प्रदेशबाट श्रम स्वीकृतिको थालनी गरेर राष्ट्रिय रूपमा चर्चा कमाएका थिए । 

स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा गुल्मी-२ मा एकीकृत समाजवादी चौथो पार्टी हो । एमालेले ३१ हजार २ सय ५३, काँग्रेसले २९ हजार ८ सय २१, माओवादीले १ हजार ८ सय ४१, एकीकृत समाजवादीले ६ सय ५८ तथा राप्रपाले १ सय १ मत प्राप्त गरेका थिए । 

रेसुङ्गा, रुरु लगायतका धार्मिक पर्यटकीय क्षेत्र र कफी उत्पादनमा देशकै नमुना पहाडी जिल्ला गुल्मी व्यावसायिक कृषिमा पनि अगाडि छ । तर, निर्माणाधीन योजना सम्पन्नता, कृषिको बजारीकरण, सडक सञ्जाल, विद्युतिकरण, स्वास्थ्य र शिक्षाको स्तरोन्नतिमा थुप्रै काम गर्न बाँकी छ । यस्तोमा एउटै दलबाट विभाजन भएका दुई उम्मेदवार फरक एजेन्डा बोकेर भोट माग्दै आउँदा मतदाता कसलाई मत दिने अन्योलमा छन् । 

यो गुल्मी क्षेत्र नम्बर २ मा १ लाख ४ हजार ३ सय ७ मतदाता छन् । थुप्रै विकासका योजना ल्याएका अनुभवी नेता एकातिर र युवा तथा महिला उम्मेदवार अर्कोतिर भएर चुनावी मैदानमा आएपछि मतदाताहरूले कसलाई छान्ने हुन् त्यो भने हेर्न बाँकी छ ।