२६ बैशाख २०८१, बुधबार

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मध्यरातमा संसद विघटन, कात्तिक र मंसिरमा मध्यावधि चुनाव

bidhya devi

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन् ।

मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

उनले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन् । राष्ट्रपतिले संसद भंग गरेर मध्यावधि चुनावको घोषणा गर्दा रातको एक बजेको थियो । 

धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी पुगेन

संसद भंग गर्नुअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार गरेकी थिइन् ।

राष्ट्रपतिले शुक्रबार राति साढे १० बजेपछि शेरबहादुर देउवा र केपी ओली दुबैले प्रस्तुत गरेको नयाँ सरकार गठनको दाबी नपुगेको भन्दै दुबै दाबी खारेज गरिदिएका थिइन् । त्यसपछि बालुवाटारमा मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा  विघटनको सिफारिस गर्दै कार्तिक २६ मङ्सिर ३ गते चुनाव गर्ने मिति प्रस्ताव गरेको थियो ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए । देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए । ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।

तर दुबैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरित एकले अर्कालाई समर्थन गरेको र संम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै राष्ट्रपतिले दुबैको दाबी नपुग्ने निर्णय गरेकी थिइन् ।

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको याे दाेस्राेचोटि हो । हाे । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

राष्ट्रपति कार्यालयको  विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान् प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ ।

2 परतनध सभ वघटन वजञपत 2078 1489x2048 9aInULyJum