
सरकारको सिफारिसमा एकाएक राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि २१ घण्टे समायवधि दिँदै आह्वान गरेपछि नेपाली राजनीति फेरि तातेको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिको यस्तो हर्कतप्रति विपक्षी दल र कानुनविद्हरुले कडा विरोध जनाइरहेका छन् । यही सन्दर्भलाई लिएर नेपाली काँग्रेसका प्रभावशाली युवा नेता एवंम पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सबै दल एकजुट भएर ओलीलाई बिदा गर्ने बेला आएको बताएका छन् । उनले ट्वीट गर्दै राष्ट्रपतिले तोकेका समय सीमा भित्रमै नयाँ सरकार गठन गरेर प्रधानमन्त्री ओलीलाई बिदा गर्नुपर्ने धारणा राखेका छन् । त्यसपछि राष्ट्रपति भण्डारीलाई पनि महाअभियोग लगाएर बिदा गर्नुपर्ने उनको धारणा छ । उनले ट्वीट गर्दै लेखेका छन्–‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो, नेता गण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’
राष्ट्रपति भण्डारीले विज्ञप्ती जारी गर्दै भोलि (जेठ ७ गते) साँझ ५ बजेसम्मका लागि नयाँ सरकार गठनका आह्वान गरेकी छन् ।