१२ बैशाख २०८१, बुधबार

राष्ट्रिय सभाको उपनिर्वाचनः ३३८ मत खस्यो, आजै ४:३० बजेदेखि मतगणना

nirbachan

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन अन्तरगतको मतदान कार्य सकिएको छ । निर्वाचन आयोगका अनुसार अपरान्ह ३ बजेसम्म शान्तिपूर्ण रुपमा मतदान सकिएको हो ।

मतदानमा कुल ३३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश सांसदतर्फ १०९ मध्ये १०५ मत खसेको थियो भने स्थानीय तहतर्फ २३८ मतदाता मध्ये २३३ मत मात्रै खसेको कार्यालयले जनाएको छ ।

प्रदेश सांसदतर्फ विवेकशील साझाका तीनजना सांसद मतदान प्रक्रियामै सहभागी भएनन्। यो पटक विवेकशील ‘नो भोट’ को पक्षमा उभिएको थियो ।
त्यस्तै माओवादीका दोलखाबाट निर्वाचित समानुपातिक सांसद हिमाली गोले मतदानमा सहभागी भइनन्। उनी बिरामी भएर उपस्थिति नभएको बताएकी छन् ।

स्थानीय तहतर्फ पाँचजनाले भोट दिएनन्। जसमा दोलखाको मैलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी, भक्तपुरका मेयर एवम् नेपाल मजदुर किसान पार्टीका नेता सुनील प्रजापति, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र उपप्रमुख कोपिला पण्डित पनि आजको मतदान सहभागी भइनन्। यस्तै धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ पनि मतदानका लागि हेटौँडा आएनन्।
बागमतीबाट राष्ट्रियसभाका लागि एमालेका रामबहादुर थापा बादल र स्वतन्त्र हैसियतमा डा. खिमलाल देवकोटा मुख्य प्रतिस्पर्धामा छन्।