८ बैशाख २०८१, शनिबार

पूर्वराजाको सन्देशः प्रजातन्त्र केही टाढाबाठाहरुका लागि मात्र होइन

Gyanendra Shah

पूर्व राजा ज्ञानेन्द्र शाहले ‘प्रजातन्त्र’ शब्दमा नभइ कर्ममा उत्रनु पर्ने बताएका छन् ।

शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रजातन्त्रले अझै सार्थकता पाउन नसकेको बताएका ।

उनले ‘प्रजातन्त्र’ रुपमा नभई सारमा झल्कनु पर्ने उल्लेख गर्दै कुनै अलंकार, नामान्तर वा रुपान्तरण मात्र नभई ‘प्रजातन्त्र’ जीवन पद्धति र व्यवहार पनि देखिनु पर्ने प्रष्ट पारेका हुन।

७० औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मंगलबार साँझ एक शुभकामना मन्तव्य जारी गर्दै पूर्व राजा शाहले राष्ट्रको प्रतिष्ठा प्रवद्र्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण भएको बताए ।

जारी शुभकामना मन्तव्यमा अगाडि भनिएको छ, ‘देश दर्शन र बिभिन्न वैदेशिक भ्रमण जाँदा नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन नसकिरहेको सुनिने गरेको छ, केही टाठाबाठाका निमित्त मात्र होइन, केहीको आर्थिक स्वार्थका लागि मात्र होइन, प्रजातन्त्र सबै जनता तथा सिंगो देशका निम्ति प्रतिफलकारी हुनुपर्दछ, त्यसैले हामी चाहन्छौ यिनै विषयका निम्ति सबै जिम्मेवारहरु सचेष्ट होउन्, अनि हाम्रो भौगोलिक, सामाजिक, सांस्कारिक र मौलिक मान्यतालाई बुझेर अघि बढुन् ।’

विज्ञप्तीमा पूर्व राजा शाहले इतिहास नभूल्न, वर्तमानलाई नविर्सन र भविष्यको कोरा सपना मात्र बाँढेर समय खेर नफाली सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न पनि सबैमा आग्रह समेत गरेका छन्।

उनले विज्ञप्तीमा राजा त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्नेहरुलाई पनि स्मरण गराएका छन ।