७ बैशाख २०८१, शुक्रबार

चीनबाट फर्किएका विद्यार्थीलाई स्वास्थ्यमन्त्रीले भेटेर भने : नआत्तिनू, सरकार छ

dhakal vanuvakta

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट उनले त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।

क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीहरुसँग उनले सिसी क्यामराको माध्यमबाट भिडिओ हेर्दै कुराकानी गरे । सो अवसरमा मन्त्री ढकालले क्वारेन्टाइनमा रहेका नेपालीसँग सरकार उनीहरुसँगै रहेको र सबै सहयोग गर्न तयार रहेकाले नआत्तिन आग्रह गरेका थिए ।

आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो । कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याबारे जानकारी लिएका थिए । जवाफमा भित्र रहेका नेपालीले सरकारले पुर्‍याएको सहयोगको बारेमा धन्यवाद व्यक्त गर्दै आफूहरु पूर्ण रुपमा स्वस्थ्य र सरकारले गरेको व्यवस्थाप्रति निकै खुसी रहेको प्रतिक्रिया दिएका थिए ।

मन्त्री ढकालले माइकमार्फत सम्बोधन गर्दै ढुक्क भएर रहन र कुनै चिन्ता नलिन आग्रह गर्नुका साथै सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए ।

सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउँदै उनले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्वारा उनीहरुको अवस्थाबारे थप जानकारी लिएका थिए । क्वारेन्टाइनस्थलमा खटिनु भएका नेपाली सेनाका सेनानी डा नवीन फुयाँलले चीनबाट फर्किएका नेपालीहरु शारीरिक, मानसिक सामाजिक रुपमा पनि स्वस्थ्य रहेको आफूले पाएको मन्त्री ढकाललाई जानकारी गराएका थिए ।

कोरोना भाइरसको त्रासमा चीनमा कठिन दिन बिताएका नेपालीहरु आफ्नै देशमा फर्किएर क्वारेन्टाइन सरकारले व्यवस्था गरेको सुविधामा खुसी रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

सरकारले उद्धार गरेर ल्याएका १७५ मध्ये ४० जना महिला र दुई बालबालिका क्वारेन्टाइनमा छन् । आइतबार आएलगत्तै उनीहरुको स्वास्थ्य परीक्षण र्‍याल परीक्षणका लागि सङ्कलन गरिएको थियो भने अहिले पनि नियमित रुपमा दिनको दुईपटक उनीहरुलाई दिएको थर्मोमिटरमार्फत आफैले ज्वरो नाप्ने र त्यसको रिपोर्ट लेखेर जानकारी दिने गरेका छन् । क्वारेन्टाइनमा मेडिकल डाक्टरसहित सातजना स्वास्थ्यकर्मीको टोलीले खटिएर काम गरिरहेको छ । जसमा एकजना मानसिक रोगका डाक्टरसमेत छन् ।

ज्वरो आएमा तत्कालै जानकारी गराउन आग्रह गरिएको र त्यस्तो अवस्था आएमा तत्कालै तयारी अवस्थमा रहेको एम्बुलेन्समा राखेर आइसोलेसन वार्डमा पुर्‍याउने तयारी पनि भएको छ । तर त्यस्तो अवस्था आएको छैन ।

मन्त्री ढकाललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेनाको बीरदल गणका गणपति कर्नेल शिव पौडेलले यहाँको अवस्था बारे जानकारी गराएका थिए । क्वारेण्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २५० जनाको टोली खटिएको बताइएको छ । रासस