७ बैशाख २०८१, शुक्रबार

फिल्म ‘माइतीघर–२’ निर्देशनको तयारीमा रहेका भारतीय निर्देशक सुबोध चोपडाको निधन

bhu1620988196

फिल्म ‘माइतीघर–२’ निर्देशनको तयारीमा रहेका भारतीय निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको अभिनेता भुवन केसीले बताएका छन् ।

“कोभिडका कारण भारतीय फिल्मका लेखक तथा निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको खबरले स्तब्ध भएको छु । ‘माइतीघर २’ उहाँको ड्रिम प्रोजेक्ट थियो र यो महामारी सकिने बित्तिकै यसको काम थाल्ने भनेर केही दिन अघि मात्र पनि कुरा भएको थियो,” भुवन केसी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “तर, अचानक यस्तो दुःखद् खबर सुन्दा विश्वास गर्न पनि सकिइरहेको छैन । ‘माइतीघर–२’ उहाँको प्यासन प्रोजेक्ट भएकाले श्रद्धाञ्जली स्वरुप भए पनि यो फिल्म पूरा गर्ने वाचा गर्दछु ।”

१९९७ देखि फिल्म क्षेत्रमा सक्रिय सुबोध मुलतः स्क्रिप्टराइटर हुन् । उनले महेश भट्ट क्याम्पका ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ आदि फिल्म लेखेका छन् । नेपालमा २०२३ सालमा रिलिज भएको ‘माइतीघर’को कथालाई समातेर उनले ‘माइतीघर २’ बनाउन लागेका थिए । फिल्ममा अनमोल केसी र भुवन केसी खेल्ने कुरा थियो भने महत्वपूर्ण भूमिकाका लागि मनीषा कोइरालालाई पनि लिने चर्चा थियो ।

भुवनले सुबोधसँग खिचेको अनमोल र आफ्नो तस्बिर पनि सामाजिक सञ्जालमा राखेका छन् । भुवन कोरोना संक्रमणको माहामारी सकिनबित्तिकै ‘माइतीघर–२’ छायांकन गर्ने तयारीमा थिए ।