१६ चैत्र २०८०, शुक्रबार

माधव नेपालले धोका दिएका छैनन्, हामी फेरि एकै ठाउँमा भेट हुन सक्छौं : प्रचण्ड

prachanda QUx9JCgww5
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग फेरि पनि एक ठाउँमा भेट हुन सक्ने बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले माधव नेपालबाट धोका भएको भनेर अहिले नै भन्न नमिल्ने बताए ।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्न बिहीबारसम्म प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा असफल भएका थिए । माधवकुमार नेपालले एमालेबाट राजीनामा नदिएपछि ओलीलाई हटाउने प्रचण्ड–देउवको सपना अपूरो बनेको हो ।

तर प्रचण्डले आज भनेका छन् ‘अहिले म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न । अहिले भर्खर पनि हामी कुरा गर्दै थियौं । ‘उहाँभित्र केही समस्या भए होलान् । संविधान र लोकतन्त्रका पक्षमा उहाँहरू संघर्षमै रहेकोले अहिले नै धोका दिएको भन्न मिल्दैन ।’

एमालेभित्र देखिएका विवाद समाधानतर्फ गइरहेको छ । अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका चार नेतालाई निलम्बन फुकुवा गरेर वार्ता गरेसँगै बिहीबार उनीहरूले सांसद पदबाट राजीनामा रोकेका थिए ।

प्रचण्डले संविधानको धारा ७६ (५) अनुसार सरकार बन्ने अवस्था आएमा नेता नेपाल पक्षको सहयोग रहन सक्ने सम्भावना रहेको बताए ।