१५ बैशाख २०८१, शनिबार

कास्कीमा निषेधाज्ञा थपियो, गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

Gandaki Pradesh

यसैबीच नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख १७ गतेदेखि जिल्लामा लागू गरेको निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । 

पहिलोपटक वैशाख १५ देखि २१ गतेसम्म लगाइएको निषेधाज्ञा दोस्रोपटक थप गरी वैशाख ३१ गते राति १२ बजेसम्म कायम गरिएकामा पुनः जेठ १ गते बिहान ५ देखि जेठ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । प्रशासनले यस अवधिमा बिहानी तथा साँझको हिँडाइसमेत नगर्न र अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ ।

निषेधाज्ञाका अवधिमा अत्यावश्यक सेवामा प्रयोग हुनेबाहेकका जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । यसबाहेक अन्य सभा, सम्मेलन, भेला गोष्ठी, शैक्षिक संस्था, धार्मिकस्थल, सिनेमा हल, पार्टीप्यालेस, रेष्टेरेन्टलगायत समेत सञ्चालनमा बन्देज गरिएको छ । 

गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद-उल-फित्र इदको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । 

बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी दिए ।