fbpx
२९ बैशाख २०७८, बुधबार

कुशल भुर्तेल विश्व टी–२० क्रिकेटको बरियतामा

नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलो पटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल भएका छन ।

रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्ध शतक बनाएर विश्व कीर्तिमान बनाएपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बरियातामा समावेश गरेको हो ।

भुर्तेल टी–२० को नयाँ बरियतामा शीर्ष १०० खेलाडीको सूचीमा परेका छन । उहाँ ९३ औँ स्थानमा रहेका छन् ।

भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल भएका छन । उहाँले तीन खेलमा एक सय ८५ रन बनाएका थिए । भुर्तेलले नदेरल्याण्ड्ससितको खेलमा दुई तथा मलेसियासितको खेलमा एउटा अर्ध शतक बनाएका थिए । नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासितको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससितको खेलमा ६२ रन बनाएका थिए ।

यसैगरी आइसीसीले जारी गरेको नयाँ बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ८३औँ स्थानमा परेका छन् । उनी यस अघिको बरियतामा ७३औँ स्थानमा थिए । अभ्यासका क्रममा घाइते भएपछि खड्का हाल जारी त्रिदेशीय टी–क्रिकेट सिरिज खेल्नबाट वञ्चित भएका हुन् ।

यस्तै बलिङतर्फ सन्दीप लामिछाने विश्व बरियतामा ७७ औँ स्थानमा रहेका छन् । उनी यसअघि ८४औँ स्थानमा रहेका थिए । हाल जारी टी–२० सिरिजमा लामिछानेले तीन खेलमा आठ विकेट लिएका छन् । उनले नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा मङ्गलबार चार विकेट लिएका थिए । यो सँगै लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन । टी–२० क्रिकेटमा लामिछाने हालसम्म २४ खेलमा ४२ विकेट लिएका छन् ।

यस अघि टी–२० क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने कीर्तिमान करण केसीको नाममा थियो । केसीले ३१ खेलमा ४१ विकेट लिएका छन् ।