१२ बैशाख २०८१, बुधबार

आइसियु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी बढ्दै

icu covid representation

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लागेसँगै सुदूरपश्चिम प्रदेशमा सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी बढ्न थालेका छन् ।

सङ्क्रमित भई जटिल अवस्थाका दश जनाको विभिन्न अस्पतालका सघन उपचार कक्षमा र तीन जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । तीन दिनअघिसम्म सघन उपचार कक्षमा पाँच र भेन्टिलेटरमा एक जनाको उपचार व्यवस्थापन भइरहेको थियो ।

प्रदेशमा कोभिड–१९ का ३७८ सक्रिय बिरामी मध्ये ७५ जना विभिन्न अस्पतालका आइसोलेशनमा र अन्य सक्रिय सङ्क्रमित स्थानीय तहका आइसोलेशनमा रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, बझाङ, डडेल्धुुरा र डोटीमा गरी ५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

यसै बीच कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकपछि जारी गरिएको सार्वजनिक सूचनामा कुनै पनि सभा, समारोह वा कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिएको छ ।

सूचनामा कुनै पनि गोष्ठी बैठक सेमिनार नगर्न र गर्नै परेमा भर्चुअल विधि मार्फत गर्न आग्रह गरिएको छ । धनगढी उपमहानगरपालिका क्षेत्रका हकमा वैशाखभरि विद्यालय, ट्युसन सेन्टर, तालीम केन्द्र बन्द गरी भर्चुअल वा वैकल्पिक विधि मार्फत शिक्षण सिकाइ जस्ता गतिविधि गर्न, गराउन, अन्य स्थानीय तहको हकमा सम्बन्धित क्षेत्रमा रहेका विद्यालय १० दिनका लागि बन्द गर्न आग्रह गरिएको छ ।

पूर्वनिर्धारित परीक्षाका कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सञ्चालन गर्ने गराउने, सिनेमा हल, डान्सबार, पार्टी प्यालेस, जिमखाना, स्वीमिङ पुल, फुटसल, हाट बजार, सभा जुलुस जस्ता भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाखभरि बन्द गर्ने गराउने, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा भीडभाड नगरी नित्य पूजा र ध्यान मात्र गर्ने गराउने, विवाह व्रतबन्ध, जस्ता संस्कार समेत जनस्वास्थ्यका मापदण्ड अपनाइ गर्नुपर्ने सूचनामा जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयास स्वरुप जिल्ला प्रशासन कार्यालयको टोलीले आज धनगढी क्षेत्रमा सर्वसाधारणले मास्क लगाए नलगाएबारे अनुगमन पनि थालेको छ । भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर बढ्दै जाँदा सुदूरपश्चिममा पनि यो रोगको जोखिम बढेको छ । सङ्क्रमण र मृत्यु हुनेदर बढेसँगै भारतबाट फर्किने नेपाली पनि बढ्दै गएका छन् ।

नेपाल फर्किनेमा कोरोना भाइरसको सङ्क्रमण भए-नभएको पत्ता लगाउन सीमाक्षेत्रका ‘हेल्थ डेस्क’मार्फत एन्टिजेन परीक्षण गर्ने कार्य भइरहेको छ । कुनै पनि व्यक्तिमा कोरोना भए-नभएबारे स्थलगत रुपमै पत्ता लगाउने छोटो र सजिलो प्रविधि एन्टिजेन परीक्षण भएको जनाइएको छ । यो एन्टिजेन विधि कोरोना परीक्षण गर्ने पिसिआर विधि जस्तै मानिन्छ ।

कुन भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आउने व्यक्तिको पुनःपिसिआर पद्धतिबाट परीक्षण गर्नुपर्ने बताइएको छ । सुदूरपश्चिमका कैलालीलाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।