१३ बैशाख २०८१, बिहीबार

जित्नै पर्ने दबाब मलेसियालाई, नेपालले मलेसियालाई दियो २२४ रनको लक्ष्य

Nepal vs malaysia

त्रिदेशीय टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई जितका लागि २२४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रसिंह ऐरीको शतक र रोहित पौडेलको अर्धशतकको मद्दतमा २० ओभरमा २२३ रन बनायो ।

घरेलु मैदानमा त्रिकोणात्मक टी २० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपाल र मलेसियाबीच खेल भइरहेको छ । 

त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) मलेसियाको सामना गर्दा नेपाल सतप्रतिशत नतिजाको लक्ष्यमा हुनेछ । दिउँसो साढे १२ बजे सुरु भएको खेलमा मलेसिया भने निकै दबाबमा छ । आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित हुनेछ ।

यता, नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गसिसकेको छ । नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङगो लगाउने छ । नेपालले मलेसियालाई हराएमा पपुवा न्यु गिनी फाइनल प्रवेश गर्नेछ । नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

पीएनजीले शुक्रबार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ । दोस्रो स्थानको पीएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अंक छ । नेपालले पीएनजीविरुद्धको दुवै खेल जितेको थियो भने मलेसियलाई एक खेलमा पराजित गरेको थियो । मलेसियाविरुद्धको खेलमा प्रशिक्षक पुबुदु दसानायकेले बिहीबार पिएनजीविरुद्ध उतारेको टोलीलाई नै निरन्तरता दिने प्रबल सम्भावना छ । सो खेलमा दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका थिए भने डेब्यु खेलमै आदिल आलमले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा ३१ रन बनाएका थिए ।

बलिङतर्फ तीव्र गतिका बलर करण केसी ह्याट्रिकसहित पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले ट्वान्टी–२० क्रिकेटमा ५० विकेट समेत पूरा गरेका थिए । यता नेपालविरुद्धको पहिलो खेलमा मात्र ११४ रनमा समेटिएको मलेसिया उच्च प्रदर्शनका साथ फाइनलमा स्थान बनाउन चाहन्छ । पीएनजीविरुद्धको पहिलो भेटमा जित निकालेको मलेसिया शुक्रबार भने बलियो योगफलका बाबजुद निराश भएको थियो ।