१४ बैशाख २०८१, शुक्रबार

अवैध अध्यक्षको अवैध कारवाही स्विकार नगर्ने : भीम रावल

Bhim Rawal
फाइल फोटो

नेकपा एमालेका उपाध्यक्ष तथा माधवकुमार नेपाल समूहका सुदूरपश्चिम प्रदेश संयोजक भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ लैजान खोजेको आरोप लगाउनुभएको छ ।

धनगढीमा समूहको सुदूरपश्चिम प्रदेश समितिले गरेका निर्णय सार्वजनिक गर्दै नेता रावलले राष्ट्रलाई अफट्यारो दिशातर्फ लैजान खोजेको आरोप लगाउनुभयो । फागुन २८ गतेको भेला पार्टीको नभएर गुटको भएको रावलले बताउनुभएको छ ।

प्रधानमन्त्री स्वयमले बालुवाटारमा बोलाएर जनप्रतिनिधिलाई पदको लोभ देखाउने, धम्काउने र डराउने गरिरहनुभएको बताउँदै उक्त कार्य निन्दनिय भएको र यस्ता खालका धम्कीबाट विचलित नहुन समेत अनुरोध गर्नुभएको छ ।

स्वयम ओलीले नवौँ राष्ट्रिय महाधिवेशनको म्यान्डेड र विधानविपरीत काम गरेको बताउँदै रावलले आफूमाथि गरिएको कारबाही स्विकार गर्न नसकिने बताउनुभयो ।पार्टीको विधानविपरीत ओलीले नै पटक–पटक काम गरेको र विधानविपरीत काम गरेर ओली आँफै अवैध अध्यक्ष भइसक्नुका साथै अवैध अध्यक्षले गरेको कारबाहीलाई स्विकार्न नसकिने उहाँले बताउनुभयो ।

यस्तै पत्रकार सम्मेलनमा नेकपा (एमाले) सुदूरपश्चिमका अध्यक्ष कर्ण थापालाई कारबाही गर्न सिफारिस गरिएको पनि जानकारी दिइएको छ । पार्टी विभाजन गर्न संलग्न भएको, पार्टी कार्यालयमा गुण्डागर्दै र तोडफोड गरेको भन्दै थापालाई पार्टीका सबै जिम्मेवारीबाट हटाउँदै पार्टी सदस्यताबाट एक बर्षका लागि निलम्बन गर्नसमेत सिफारिस गरिएको हो ।