१५ चैत्र २०८०, बिहीबार

मेरो शतक नेपाली समर्थकलाई – अकिब इल्यास

Aqib Ilyas

आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिज अन्तर्गत नेपालविरुद्ध शतक प्रहार गरेका ओमानका ब्याट्सम्यान अकिब इल्यासले आफ्नो शतक नेपाली दर्शकलाई समर्पित गरेका छन् ।

सिरिजको आइतबार भएको खेलमा ओमानले नेपालले दिएको २५० रनको लक्ष्य पुरा गरेर जित हासिल गर्दा अकिबले १०९ रन अविजित बनाएका थिए । शतक प्रहार गरेपछि अकिबले नेपाली समर्थकतर्फ फर्केर आफ्नो शतकको खुशियाली मनाएका थिए ।

आकिबले शतक पुरा गरेपछि मैदानमा उपस्थित नेपाली दर्शकले उठेर ताली बजाएर उनको खेलको सम्मान गरेका थिए । अकिबले पनि लामो समयसम्म दर्शकहरुतर्फ आफ्नो ब्याट उचाल्दै अभिवादन फर्काएका थिए ।

Aqib Ilyas
तस्विर्: आई सि सि

खेलपछि कुरा गर्दै अकिबले नेपाली क्रिकेट समर्थकको खुलेर प्रसंशा गरेका थिए । उनले भने, यस्तो मैले मेरो क्यारियरमा कहिल्लै देखेको थिएन, नेपाली समर्थकहरुले मलाई गरेको समर्थन अचम्म लाग्दो थियो । मैलें अब यी समर्थकसँग फेरी कहिले खेल्छु थाहा छैन । नेपाली समर्थकको अघि कहिले शतक प्रहार गर्छु त्यो पनि थाहा छैन । मेरो टोलीको अघि त फेरी पनि शतक प्रहार गर्न सक्छु । त्यसैले पनि मैंले मेरो शतक आफ्नो टोली अघि नेपाली समर्थकतर्फ फर्केर आफ्नो शतकको खुशियाली मनाए ।

बलिङबाट ४ विकेट समेत लिएका अकिब एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शतक र ४ विकेट लिने १५औ खेलाडी बनेका छन् ।

सिरिज अन्तर्गत ओमानले अब अमेरिकासँग मंगलबार खेल्ने छ भने नेपालले अमेरिकासँग बुधबार अन्तिम खेल खेल्ने छ ।