४ बैशाख २०८१, मंगलवार

हतारको काम लतार : गैर आवासीय नेपाली भवन बालुवाटार

nrna building

गैर आवासीय नेपाली संघले बालुवाटारमा किनेको जग्गा र निर्माण गरेको भवन नामेट हुनै लागेको छ । यसमा तत्कालीन अध्यक्ष शेष घले, निवर्तमान अध्यक्ष भवन भट्ट र जग्गा खरिद समितिका सदस्यको नाम बाहिर ल्याइएको छ ।

यद्यपि खरिद प्रक्रियालाई टुङ्गो लगाउन गरिएका पत्रहरूलाई केलाउँदा तत्कालीन महासचिवका हैसियतले कुमार पन्तले पटक पटक बैठक बोलाएर प्रक्रियालाई छिटै टुङ्गोमा पुर्याउन पहल गरेको देखिन्छ । कुनै पनि संघ संस्थामा अध्यक्षको चाहना नै भएपनि महासचिवको चासो र सक्रियता बिना छिटो छिटो बैठक बस्न सक्दैन ।

गैर आवासीय नेपाली संघका लागि जग्गा खरिद गर्न कुमार पन्तले एक हप्तामा दुई पटक बैठक गराएका छन् । बालुवाटारको जग्गा खरिद प्रक्रियालाई छिटो टुंग्याउन अध्यक्ष घले मात्र होइन तत्कालीन महासचिव कुमार पन्त कसरी लागि परेका थिए भन्ने प्रष्ट हुन्छ ।

आर्थिक पक्ष हेर्ने संघका तत्कालीन कोषाध्यक्ष साथै अहिलेका उपाध्यक्ष बद्रीको केसीको पनि यो निर्णय प्रक्रियामा उत्तिकै हात रहेको देखिन्छ । हरेक निर्णय प्रक्रियामा बद्री केसीको सक्रिय संलग्नता छ ।

त्यसबेलाका निर्णय र कागज पत्रबाट तत्कालीन अध्यक्ष घले ,महासचिव पन्त र कोषाध्यक्ष बद्री केसीको पहल प्रयासमा त्यसबेला सबै काम भइरकेको छर्लङ्ग हुन्छ ।

कुमार पन्तले काठमाडौँ वडानम्वर ४ को नक्सा सिट नम्बर १०२–१०२५–१५ कित्ता नम्बर ५४९, १०२, ६० र ५४६ को पुरै र आंशिक गरी जम्मा ३ रोपनी जग्गा प्रति आना २६ लाख ५० हजारका दरले खरिद गर्ने निर्णय टुङ्गोमा पुर्याउन एक सातामा दुई पटक बैठक बोलाएको देखिन्छ । पाँच दिनको अन्तरालमा २०१५ मार्च १० र मार्च १५ मा अन्तराष्ट्रिय कार्यकारी सचिवालय र कार्यालय पदाधिकारी समितिको बैठक गराइ अध्यक्ष शेष घले, महासचिव कुमार पन्त र कोषाध्यक्ष बद्री केसीले खरिद प्रक्रियालाई अनुमोदन गराएका छन् ।

संस्थाका सर्वशक्तिमान तीन जना मध्ये कसैको पनि असहमतिमा निर्णय प्रक्रियामा तत्काल टुङ्गोमा पुग्न सक्ने थिएन । जग्गा खरिद गर्ने निर्णायक बैकमा तत्कालीन उपाध्यक्षद्वय भवन भट्ट, टी वी कार्की, सचिव रञ्जु थापा वाग्ले, र प्रवक्ता मन के सी पनि संलग्न देखिन्छन् । ~ दुरबिन नेपाल