१४ बैशाख २०८१, शुक्रबार

“म पनि ‘नीलकण्ठ’बन्न तयार छु”: डा. बाबुराम भट्टराई

baburaam tweet

१७५ जना लाई अख्तियारले मुद्धा दर्ता गर्ने प्रकृया शुरु गरे सँगै डा. बाबुराम भट्टराईले ट्वीट गर्दै देशको लागी आफु बिष पिउन तयार रहेको अभिब्यक्ती दिनुभएको छ ।

समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा त्रुटी र अपूर्णता रहेको बताएका छन्।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोप्रति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई असहज महसुस भएको प्रक्रियता दिएका हुन् ।

उनले बिहीबार ट्वीटरमा लेखेका छन्, ‘मैले पनि असहजता महसूस गरेको छु! सुर–असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘नीलकण्ठ’बन्न तयार छु! तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस ! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिनेचाहिँ फस्ने नहोस्!

अख्तियारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ। उनीहरूसँगै पूर्व मुख्यसचिव एवम् चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललगायत १७ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ।

ऐन कानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएको भट्टराईले बताए ।

उनले अगाडि लेखेका छन्, ‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयत्न स्वागतयोग्य छ । तर प्रथम दृष्टि या यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ । हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ । मन्त्री दोषी तर प्रम निर्दोष देखिदा…’। मुद्दा प्रक्रिया अगाडि बढेसँगै भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

ललिता निवासको १ सय १४ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराई पनि जोडिएका थिए । २०६६ चैत र २०६७ वैशाखमा नेपाल नेतत्वको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री निवास विस्तारको निर्णय गरेको थियो ।

२०६९ मा भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो तर उनीहरु विरुद्ध मुद्दा नचल्ने भएको छ ।

भ्रष्टाचारमा पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ मुछिएका छन्। उनीहरू उपर सरकारले अधिग्रहण गरेको जग्गा जफत भएको राजनीतिक आधार देखाएर फिर्ता गराउँदै निजी रूपमा नामसारी गर्न सघाएको आरोप छ।