७ बैशाख २०८१, शुक्रबार

साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

death body 696x392 1

जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ ।

गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता हुनुभएको थियो । बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताउनुभयो ।

स्वामी कार्तिकको हिमालयन बैंकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार बेपत्ता भएको साढे दुई महिना पछि मृतावस्था फेला पारेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख प्रहरी नायब निरीक्षक वीरसिहं ठगुन्नाले जानकारी दिनुभएको छ । स्वामी कार्तिक खापर–२ को भुकाहाँ खोला नजिकै कर्णाली नदीमा तैरिरहेको अवस्थामा ल्वारको शव फेला परेको उहाँले बताउनुभयो ।

खोलामा माछा मार्न गएका व्यक्तिले नदीमा शव देखेपछि स्थानीयवासीलाई खबर गरेको प्रहरी निरीक्षक ठगुन्नाको भनाइ छ । घटनास्थलमा देखिएको शङ्कास्पद शवलाई आफन्तद्वारा पहिचान गराइएको प्रहरीले जनाएको छ । बेवारिसे शवलाई नदीको किनारा ल्याएर हेर्दा नागरिकताबाट मृतक ल्वारको पहिचान भएको प्रहरी निरीक्षक ठगुन्ना बताउनुहुन्छ ।

घटनास्थल पुगेका आफन्त र प्रहरीले शवलाई हेर्दा पाइन्टको खल्तीमा पानीले भिजेको अवस्थामा भेटिएको नागरिकताबाट मृतक ल्वार भनी पहिचान भएको हो । प्रहरीले घटनास्थमा पुगेर मुचुल्का तयार गरी मृतक ल्वारका आफन्तलाई शव बुझाई दाहसंस्कारका लागि जिम्मा लगाएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।