१४ बैशाख २०८१, शुक्रबार

निश्‍चित व्यक्ति प्रधानमन्त्री बन्‍न नपाए त्यसैलाई प्रतिगमन भन्‍न थालिएको छ : मन्त्री ज्ञवाली

pradeep gyawaali

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोही प्रधानमन्त्री बन्न नपाए त्यसैलाई प्रतिगमन भन्ने भाष्य नेपालमा विकास भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालमा सकारात्मक कुराको चर्चा कम हुने गरेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले सम्बोधनका क्रममा भने, ‘हामीकहाँ निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भन्ने नयाँ भाष्य विकास भएको छ ।’

मन्त्री ज्ञवालीले अगाडि भने, ‘प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने, पद नपाउँदा प्रतिगमन हुने, तर हाम्रा निम्ति काठमाडौंका काकाकुलजस्ता परेका नागरिकहरुले पानी खान पाउँदाको जस्तो अग्रगमन केही हुँदैन ।’

मन्त्री ज्ञवालीले वर्तमान सरकारले उल्लेखनीय कार्य गरेको पनि दाबी गरे । अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस हुनु खुसीको कुरा भएको उनको भनाइ थियो । वर्षौंदेखि काठमाडौंवासीले काकाकुलले झैं पर्खिरहेको मेलम्ची आइपुगेको र केही दिनमै काठमाडौंवासीका घरका धारा धारामा पुग्ने ज्ञवालीले बताए ।

फागुन ११ गतेको सर्वोेच्च अदालतको फैसलालाई सम्मान गर्दै वर्तमान सरकारले विधिको शासन र संविधानको सर्वोच्चतलाई विश्वास गर्ने पनि मन्त्री ज्ञवालीको भनाइ थियो ।