८ बैशाख २०८१, शनिबार

बुद्धिचाल प्रतियोगिता उपाधि हेटौँडाको पोल्टामा

chess

ट्रफी र नगद रु एक लाख ५० हजारसहित भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले हात पारेको छ ।

जगातीस्थित महेश्वरीमा आयोजना गरिएको प्रतियोगिताको आज भएको अन्तिम खेलमा समान ११ अङ्क प्राप्त गरे पनि म्याच प्वाइन्टका आधारमा ललितपुर महानगरपालिका दोस्रो र काठमाडौँ महानगरपालिका तेस्रो भएको छ ।

प्रतियोगिताको अन्तिम खेलमा २.५–१.५ अङ्कले पराजित गरी कूल १३ अङ्कसहित हेटौँडाले उपाधि हासिल गरेको हो । प्रतियोगितामा ललितपुरका सजिन महर्जनले केशव श्रेष्ठ, बद्रिलाल नेपालीले रिजेन्द्र राजभण्डारी, सरोज महर्जनले नवीन तण्डुकार र सुमन राईले राजेन्द्र बज्राचार्यसँग बराबरी खेलेका थिए ।

ललितपुरले ट्रफी र नगद रु एक लाख तथा काठमाडौँले ट्रफी र नगद रु ५० हजार हात पारेको छ । प्रतियोगितामा व्यक्तिगत प्रदर्शनमा बोर्ड नम्बर १ मा टोखा नगरपालिकाका मिलन लामा, बोर्ड नम्बर २ मा भक्तपुरका निकेन कुसाथा, बोर्ड नम्बर ३ मा दमक नगरपालिकाका चन्द्रप्रकाश नेपाल, बोर्ड नम्बर ४ मा हेटौँडाका रुपेश जैसवाल र बोर्ड नम्बर ५ मा भक्तपुरका केशव मानन्धर उत्कृष्ट घोषित भए ।

उनीहरुले जनही नगद रु पाँच हजार प्राप्त गरे । प्रतियोगितामा देशभरका २२ नगरपालिकाका खेलाडी सहभागी भएका थिए ।