११ बैशाख २०८१, मंगलवार

ट्राफिक सचेतना एवं आतिथ्यता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन

byas

व्यास नगरपालिका अन्तर्गतका चालक र कार्यालय सहयोगीका लागि ट्राफिक सचेतना एवं आतिथ्यता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

व्यास नगरपालिकाको आयोजनामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा व्यास नगरपालिकाका चौधवटै वडाका चालक र कार्यालय सहयोगीलाई उक्त कार्यक्रम प्रदान गरिएको हो । नगरपालिकाले पहिलो पटक यस किसिमको कार्यक्रमको आयोजना गरेर कर्मचारीलाई सहभागी गराएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा ६२ जनाको सहभागिता रहेको छ । उहाँले भन्नुभयो, “सामान्य कुराको पनि ज्ञान नभएको देखिएकाले आवश्यकता महसुस गरी एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।” उक्त अभिमुखीकरण कार्यक्रम पश्चात् चालक र कार्यालय सहयोगी कर्मचारीको व्यवहारमा आमूल परिवर्तन आउने विश्वास गरिएको उहाँले बताउनुभयो ।

सो अवसरमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका तालीम संयोजक टापेन्द्र रिजालले आतिथ्यता व्यवस्थापन, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले तनाव व्यवस्थापन तथा सकारात्मक सोचको विकास, वरिष्ठ आलेप अधिकृत कुमारकञ्चन जिसीले कार्यालय सरसफाइ र व्यवस्थापन तथा जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक राजु श्रेष्ठले ट्राफिक नियम र सडक अनुशासन विषयमा प्रशिक्षण दिनुभएको थियो ।