१४ बैशाख २०८१, शुक्रबार

हामी कारवाही भोग्न लामबद्ध छौं: योगेश भट्टराई

karyakartaa velaa 20210316144828

नेकपा एमाले माधवकुमार नेपाल समूहले कार्यकर्ता भेलामा सहभागी हुनेलाई कारवाही गर्ने भन्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको भाषा धम्कीपूर्ण भएको आरोप लगाउनु भएको छ ।

बुधवारका लागि बोलाइएको कार्यकर्ता भेलाको तयारीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य योगेश भट्टराईले शक्तिको भाषा नबोल्न चेतावनी दिनु भएको छ ।

‘प्रधानमन्त्रीका अभिव्यक्ति सुन्न पाएका छौं, यो बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुँदैन । बुद्धको अनुयायी भएका प्रधानमन्त्रीलाई यति भन्न चाहन्छु,’ भट्टराईले भन्नु भयो ‘प्रधानमन्त्रीज्यूले हाम्रो कार्यकर्ता भेलामा पनि नजर लगाउने भन्नुभएको रहेछ । उहाँको तर्फबाट को–को नजर लगाउन आउनुहुन्छ, स्वागत छ । तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुस् । यो भेलाको प्रमुख आतिथ्यता गर्नुस्, देशभरबाट आउने सबै तपाईंकै कार्यकर्ता हुन् ।’

भट्टराईले कारवाहीले पार्टी अगाडि नबढ्ने भन्दै धम्कीको भाषा नबोल्न प्रधामनन्त्रीसँग आग्रह गरे । ‘हामी सबै एकपछि अर्को कारवाही भोग्न लामबद्ध नै छौं, त्यो अहंकारपूर्ण अभिव्यक्ति नबोल्न आग्रह गर्छु,’ भट्टराईले भन्नु भयो