७ बैशाख २०८१, शुक्रबार

उर्वर फाँट कङ्क्रिटको शहरमा परिणत हुँदै

house in field construction plotting
सांकेतिक तस्विर

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ ।

जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगर फाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कङ्क्रिटको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् । सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहुँचमा रहेको गाउँ भएको हुनाले यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै जान थालेको हो ।

प्राङ्गारिक गाउँका रूपमा परिचित बगरफाँटमा अहिले सात वटा पक्की घर निर्माण भएका छन् । उपल्लो फाँट र तल्लोफाँट (पलाँसे क्षेत्र) गरी दुई भागमा बाँडिएको बगरफाँट जिल्लाकै अन्न भण्डारको रूपमा चिनिन्छ । जिल्लाका विभिन्न स्थानबाट बसाइँ सरेर बगरफाँटमा घडेरी किनी घर बनाएर बस्ने व्यक्तिका कारण उर्वर फाँट मासिँदै गएको स्थानीयवासीले बताएका छन् ।

सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी निकै सस्तोमा पाइने हुनाले पनि बेनी बजारमा भन्दा यहाँ घडेरी किनेर घर बनाउने आकर्षण बढेको हो । बजारमा प्रतिहात रु पाँच लाखको हाराहारीमा घडेरी बिक्री हुने गरेको भए पनि यहाँ प्रतिहात एकदेखि एक लाख ५० हजार मूल्यमा घडेरी पाइँदा घडेरीको खोजीमा मानिस बगरफाँटमा आउने गरेका हुन् ।

हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तार र जग्गाको किनबेच हुने क्रम बढेको स्थानीयवासी क्याप्टेन मीनबहादुर कार्कीले बताउनुभयो । यही क्रममा बस्ती विस्तार हुँदै जाने हो भने केही समयपछि बगरफाँटको उर्वर भूमि सखाप हुने उहाँको भनाइ छ ।