१५ चैत्र २०८०, बिहीबार

शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बग्ने

bagmati river pashupati scaled

मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ ।

सो दिनमा धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ । सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै अहिले नै वाग्मतीमा पानीको बहाब बढिरहेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताउनुभयो ।

गत १० गतेबाट सुरुङमा पानी पठाउन थालिएकामा अहिले सुरुङ पूरै पार गरेर गत शनिबारबाट सुन्दरीजलमा आउन थालेको हो । सुरुङमा जम्मा भएको पानी खसाल्न थालिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी व्यवस्थापन गरेर खसाल्ने योजना छ ।”

पानी आएको केही समयसम्म सुरुङ सफा गर्ने योजना बनाइएको छ । अझै एक डेढ महिनासम्म सुरुङ सफा गर्न र सुरुङको परीक्षण गर्न लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङ परीक्षणका क्रममा कुनै समस्या पाइएमा त्यसको समाधान गरेर उपत्यकामा नियमित रुपमा पानी वितरण हुनेछ ।

तीन खण्डबाट सुरुङ पखाल्ने (फल्सिङ) को व्यवस्था मिलाइएको मेलम्ची खानपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार सुरुको खण्ड अम्बाथानबाट ग्यालथुमसम्मको खण्ड रहेको छ । करीब पाँच किमी लम्बाइको उक्त खण्ड उकालो रहेको छ । सो खण्ड भरिएपछि पानी ग्यालथुमबाट सिन्धुतिर दोस्रो खण्डमा प्रवेश गर्ने उहाँले जानकारी दिनुभयो ।

सो खण्डको लम्बाई आठ दशमलव दुई किमी छ । तेस्रो खण्डका रुपमा रहेको सिन्धुबाट सुन्दरीजलसम्मको खण्ड सबैभन्दा लामो छ । झण्डै १० किमी लम्बाईको सो खण्ड पार गरेर पानी सुन्दरीजल आइपुगेको हो । एकै पटक नभरिए पनि एउटा तहसम्म पुगेपछि अर्काे खण्डमा पानी पुग्ने उहाँको भनाइ छ ।