७ बैशाख २०८१, शुक्रबार

महाशिवरात्रि मनाउन आएका साधुसन्त दक्षिणा सहित बिदा

shivaratri

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउनुभएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणा सहित साधुसन्तलाई बिदाइ गरेका हुन् ।

संस्थानले साधु सन्तलाई छ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेको छ । रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा विभाजन गरी दुई हजार साधु सन्तलाई दक्षिणा सहित आज बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिनुभयो ।

नागाबाबालाई भने दक्षिणा सहित २०० ग्राम र १०० ग्रामको पेडासहित बिदाई गरिएको छ । वरिष्ठ नागा बाबालाई २०० ग्राम र कनिष्ठ नागाबाबालाई १०० ग्रामको पेडासहित बिदाई गर्ने परम्परा छ ।

यस वर्ष पशुपति क्षेत्रमा १०० जना नागाबाबा आएको संस्थानले जनाएको छ । दक्षिणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुन कृष्ण एकादशीका दिन शीतल निवासमा सङ्कल्प गर्नुभएको सामग्रीसमेत वितरण गरिएको छ । बाँकी साधुसन्तलाई आइतबार पनि दक्षिणा सहित बिदाइ गरिने जनाइएको छ ।

पशुपतिमा आउने साधुसन्तलाई फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले खाने, बस्ने, धुनी जगाउने व्यवस्था गर्ने प्राचीन कालदेखिको परम्परा छ । यसैबीच पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रि मनाउन आएका साधु सन्तलाई दक्षिणासहित बिदाइ गरेको जनाएको छ ।