१६ चैत्र २०८०, शुक्रबार

शीतल निवासमा महाशिवरात्रिको पूजा सामग्री सङ्कल्प

shivaratri nepal

फाल्गुन कृष्ण एकादशीका दिन मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा महाशिवरात्रिको पूजा सामग्री सङ्कल्प गर्नुभएको छ ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण एकादशीका दिन महाशिवरात्रिको पूजा सामग्री राष्ट्राध्यक्षले सङ्कल्प गर्ने प्राचीन कालदेखिको विधि छ । सङ्कल्पपछि नै देशभरका शिवालयमा महाशिवरात्रिको चहलपहल शुरु हुन्छ । राष्ट्रपतिले महाशिवरात्रिको सङ्कल्प गर्नुभएसँगै मङ्गलबार बेलुकीदेखि नै पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आउनु भएका साधु सन्तलाई भोजनसहित धुनीको व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भने आज बिहानदेखि भोजन र आज बेलुकीदेखि धुनीको व्यवस्था गरिने गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिनुभयो । थापाथली क्षेत्रका बैरागी, सन्न्यासी, उदासी र नाथ सम्प्रदायका अखडामा पनि आज बिहानदेखि नै साधु सन्तलाई भोजन सहित बस्ने एवं बेलुकी धुनी जगाउने व्यवस्था गरिने छ ।

मङ्गलबार राष्ट्रपति भण्डारीले गुठी गोश्वारा कार्यालयबाट खर्पनमा लगिएको नरिवलको जटा, पीताम्बर, फूल, प्रसाद, अक्षता, धूपदीप, कपूरलगायत सामग्रीको सङ्कल्प गर्नुभएको थियो । यसैगरी साधु सन्तलाई संस्थानका तर्फबाट प्रदान गरिने शङ्ख, घण्ट, चमर, राडपाखी, त्रिशूल, कमण्डलु र पहेँलो वस्त्रसमेत सङ्कल्प गर्नुभएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।

सङ्कल्पपछि गुठी गोश्वारा कार्यालय र पशुपतिनाथ अमालकोट कचहरीका कर्मचारीलाई राष्ट्रपति भण्डारीले टीका एवं प्रसाद लगाइदिनुभएको थियो । कोरोना महामारीको जोखिम कायमै भए पनि पशुपति क्षेत्र र थापाथलीमा विगत वर्षमा जत्तिकै साधुसन्त महाशिवरात्रि मनाउन आएको कार्यालयले जनाएको छ । विशिष्ट साधुसन्त भने कम देखिएको जनाइएको छ ।