१३ बैशाख २०८१, बिहीबार

असिना पानीका कारण खेतीबाली क्षति

asina bali

हावाहुरी सहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ ।

दिउँसो ३ः०० बजेतिर असिना सहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षातको समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डो लगायतका लहरे बालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले जानकारी दिनुभयो ।

असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागती लगायतका बोट बिरुवालाई पनि क्षति पुर्‍याएको उहाँले बताउनुभयो । असिनासँगै केही बेर मेघ गर्जनका साथ पानी परेपछि दुलेगौडा हुँदै साँखे जाने मोटरबाटो अन्तर्गत ढोरफिर्दी स्थित बराहखोलामा पानी बढेपछि झण्डै एक घण्टा सवारीसाधन आवतजावत पनि ठप्प भएको अर्की स्थानीय सुष्मा पोखेरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोलामा पानी बढेपछि विद्यार्थी लिएर फर्केका स्कूल बस समेत झण्डै एक घण्टासम्म रोकिनुपरेको थियो । ठूलो पानी पर्नुका साथै वर्षातको समयमा बराह खोला बढ्दा सवारी साधन नै रोकिनुपर्ने समस्याबाट सर्वसाधारण समय–समयमा ग्रसित बन्ने गरेको उल्लेख गर्दै उहाँले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

दुलेगौँडाबाट ढोरफिर्दी हुँदै मान्द्रे, छब्दी देउराली, साँखे, राइपुर, मग्यम चिसापानी, साल डाँडा लगायतका स्थान जाने बाटो यही भएका कारण बराह खोलामा तत्काल मोटरेबल पुल हाल्नुपर्ने देखिएको स्थानीयवासीले बताए ।