६ बैशाख २०८१, बिहीबार

पन्ध्र दिनदेखि दम्पती अझै बेपत्ता

bepatta

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म उहाँहरुको कुनै अत्तोपत्तो लागेको छैन ।

घरमा दुई बुढाबूढी मात्रै सुतिरहेको अवस्थामा उहाँलाई बेपत्ता पारिएको हो भने उहाँको घरको ओछ्यान र चौकसमा रगतका छिटा देखिएकाले घटना रहस्मय भएको भन्दै प्रहरीले यही फागुन ११ गते बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको छ । घटनाको १५ दिन भइसक्दा पनि वृद्ध दम्पती नभेटेपछि घटना झन्झन् जटिल बन्दै गइरहेको बताइएको छ ।

प्रहरीले उहाँको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाका विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषाका समेत विभिन्न स्थानमा व्यापकरुपमा खोजतलास गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाएको छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेका कारण उहाँहरुको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाले आँकलन गरिरहेका छन् । प्रहरीले उहाँहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म तीन दर्जन बढी व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीका बारेमा कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ ।