१६ चैत्र २०८०, शुक्रबार

गंगबु हत्याकाण्डको अभियोगमा चितवनबाट पक्राउ परेकी कल्पनालाई आजीवन कारावास

gongabu hatyakanda

गोंगबुमा गत साउनमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभरीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्ने चितवन माधवपुरकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिए ।

गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेपश्चात कल्पना मुडभरी (पौडेल) ले एम्बुलेन्स चालकलाई बोलाएर चितवन भागेकी थिइन् । ३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट भिनाजुलाई फोन गरेर एम्बुलेन्समा चितवनको माधवपुर गएकी थिइन् ।

कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो । एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका थिए । शर्माका अनुसार फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएका हुन्। ‘उनी जिवीत रहुञ्जेलसम्मको लागि कैदको सजाय सुनाएको छ,’उनले भने।

त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन् । नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो। ‘सुटकेस बोकाउन सहयोग गरेको भनिएकी छोरीलाई अदालतले सफाइ दिएको छ। उनले मृतक रहेको सुटकेस फोहोर भएको भन्ठानेर फोहोर फाल्न लगेको भन्ने बयान दिएकी थिइन् । त्यहीँ आधारमा उनले सफाइ पाएकी छन्,’ शर्माले भने । ‘आमाको हकमा जन्मकैदको सजाय हुनेमा अत्यन्त क्रुर वा निर्ममतापूर्वक ज्यान मारेकोले सोही संहिताको दफा ४१ बमोजिम जीवित रहेसम्म कैद हुने भनिएको छ,’ उनले भने।

गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो । पछि प्रहरी तालिम प्राप्त जोजो नामको कुकुरको मद्दतले टाउको र खुट्टा फेला पारेको थियो । शव भेटिए पनि प्रहरीले केही दिन कृष्णबहादुरको पहिचान खुलाउन सकेको थिएन । त्यसपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो ।