१२ बैशाख २०८१, बुधबार

आलमलाई छुटाउन प्रयास गरिरहेको छु : देउवा

sherbadhur deuba
फाइल फोटो

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको बचाउ गर्नु भएको छ ।

पुरानो झुटो मुद्दामा आलमलाई फसाइएको भन्दै उहाँले आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताउनु भयो । गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा बुधबार विष्णु पुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले भन्नु भयो , ‘शेख अफ्ताब जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नो तर्फबाट लागिरहन्छु ।’

भोलिका दिन परिस्थिति बदलिन सक्ने भन्दै उहाँले निर्धक्क भएर बस्न आलमलाई आग्रह गर्नु भयो । २०६४ चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो रात राजपुरमा बम विस्फोट भएको थियो । आलमका काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकाहरुलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा रौतहट क्षेत्र नम्बर २ का सांसद आलम २६ असोज २०७६ मा पक्राउ पर्नु भएको थियो ।उहाँपुर्पक्षका लागि थुनामा रहनु भएको थियो ।