८ बैशाख २०८१, शनिबार

विपक्षी वकिलका कारण पूर्वमन्त्री आलमको सुनुवाइ भएन, ९ पटक स्थगित

Mohammad Aftab Alam Rautahat bomb blast

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाइ भएन ।

कांग्रेस नेता मोहम्मद अफताब आलमले थुनामुक्त हुन पाउँ भनेर दिएको निवेदनउपरको सुनुवाइ विपक्षी वकिलका कारण स्थगित भएको छ ।

विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार सो मुद्दामा सुनुवाई हुन नसकेको हो ।

योसहित आलमको मुद्दामाथिको सुनुवाइ ९ पटक स्थगित भइसकेको छ । ‘कम्फरटेबल इजलास’ खोज्दा कहिले पक्ष तथा कहिले विपक्षका वकिलका कारण यो मुद्दा स्थगित हुँदै आएको छ ।

सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।

न्यायाधीश प्रकाशमानसिंह राउत र प्रकाश ढुंगानाको इजलासमा आजको सुनुवाइ पहिलो नम्बरमै थियो । तर, विपक्षी कानून व्यवसायीको निवेदनपछि स्थगित भएको सर्वोच्च स्रोतले जनाएको छ ।

राउत न्यायाधीश हुनुअघि नेपाली कांग्रेसको अघिल्लो महाधिवेशनको निर्वाचन समिति सदस्य रहेका कारण विपक्षी वकिलले सो इजलास कम्फरटेबल नसोचेपछि स्थगित भएको बताइएको छ ।

यसअघि पनि राउत र कुमार रेग्मीको इललासमा परेको थियो । तर, रेग्मीले हेर्न नमिल्ने भनेपछि स्थगित भएको थियो । २०७७ मंसिरदेखि लगातार ९ पटक स्थगित भइसकेको छ ।

रौतहटमा इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।