१३ बैशाख २०८१, बिहीबार

तनहुँमा क्रिकेट खेल्न व्यवस्थित खेल मैदान छैन

pm cup cricket

तनहुँमा व्यवस्थित खेलमैदान नहुँदा क्रिकेट खेलाउन कठिनाई हुँदै आएको छ । जिल्लाका कुनै पनि स्थानमा व्यवस्थित खेल मैदान नहुँदा पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको क्रिकेट खेलाउन कठिनाइ भएको हो ।

गत वर्षदेखि दमौलीमा परिवर्तन नेपाल तनहुँ संस्थाले क्रिकेट प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष प्रवीण पौडेलले खेल मैदान नहुँदा समस्या भइरहेको बताउनुभयो । “क्रिकेट खेलतर्फ आकर्षण बढ्दो छ तर खेलमैदान छैन, जसोतसो अहिलेकै खेलमैदानमा खेलिरहेका छौँ”, उहाँले भन्नुभयो, “व्यवस्थित क्रिकेट खेलमैदान निर्माण तर्फ सरोकारवालाको ध्यान जान आवश्यक छ ।”

गत वर्ष व्यास नगरपालिका–३ स्थित बिपी वनवाटिका खेल मैदानमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । “दमौलीमा क्रिकेटको राम्रो सम्भावना छ, तर खेलमैदान छैन”, उहाँले भन्नुभयो, “जसोतसो युवाहरु खेलिरहेका छन् ।” दमौलीमा व्यवस्थित मेलमैदान निर्माणका लागि अध्यक्ष पौडेलले व्यास नगरपालिकालाई आग्रह गर्नुभयो ।