१६ चैत्र २०८०, शुक्रबार

खेलाडी कारबाही प्रकरणः क्यानकै ६ जना बोर्ड सदस्य पनि विरोधमा

gyanendra sompal1640164614

कप्तान ज्ञानेन्द्र मल्लसहित ४ जना क्रिकेट खेलाडीलाई गरिएको कारबाहीको चौतर्फी विरोध भइरहँदा नेपाल क्रिकेट संघ (क्यान)कै ६ जना बोर्ड सदस्यले त्यसमा समर्थन जनाएका छन् ।

क्यानको बोर्ड बैठकमा खेलाडीमाथि कारबाही गर्ने निर्णयमा नोट अफ डिसेन्ट लेखेका सदस्यहरुले आज औपचारिक रुपमै क्यानको निर्णयको विरोध गरेका हुन् । उनीहरुले क्यान कार्य समितिकै कामकारबाहीका विषयमा प्रश्न उठाएका छन् ।

गत बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पद मुक्त गर्ने र उनीहरुसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई केन्द्रीय सम्झौताको सुरुवाती ६ महिना बाहिरै राख्ने निर्णय गर्‍यो । जसको पक्ष र विपक्षमा अहिले खेल क्षेत्र र आम दर्शकले पनि तर्क गरिरहेका छन् ।

क्यान कार्य समितिकै ६ जना केन्द्रीय सदस्यले यसमा आपत्ती जनाएका छन् । केन्द्रीय सदस्य छुम्बी लामा, अमितवीर पाण्डे, ऋषिराम गौतम, मोहम्मद दाउद अन्सारी, करण महतरा र सञ्जय सिंहले संयुक्त पत्रकार सम्मेलन गरी क्यानको निर्णयको विरोध गरे । गत साता बोर्ड बैठकमा खेलाडीमाथि कारबाहीसम्बन्धी छलफलकै क्रममा पनि उनीहरुले प्रतिवाद गरेका थिए । त्यसयता संचार माध्यममा क्यान बोर्डको निर्णयका विषयमा लगातार टिप्पणी गर्दै आएका उनीहरुले बुधबार आफ्ना धारणा राखेका हुन् ।

कार्य समितिको बैठक भएमा निर्णयहरु नलेख्ने, भएकै निर्णयका विषयमा पनि जानकारी नगराउँदा क्यानभित्र आफ्नो धारणा समेत राख्न नपाएको उनीहरुको गुनासो छ । कार्य समिति बैठकमा नेतृत्वले एजेण्डा प्रस्तुत नगरी आफुखुसी प्रस्ताव ल्याएर छलफल गर्ने, आफ्ना अनुकुल निर्णय गर्ने गरेको उनीहरुले आरोप लगाएका छन् ।

यही पुस १४ र १५ गते धनगढीमा हुने दोस्रो वार्षिक साधारण सभा अघिनै जिल्ला अधिवेशन गर्नुपर्ने उनीहरुको माग छ । तर क्यान नेतृत्वले गत कात्तिकमै ४ वर्षे कार्यकाल समाप्त भएका २० जिल्लाको अधिवेशन नगरी आफु अनुकुलका प्रतिनिधि छनोट गरेर साधारण सभा गर्न खोजिएको उनीहरुले बताए । क्यानभित्रकै बेथितिका कारण निर्वाचित उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले संघ छोडेको भन्दै उनीहरुले नेतृत्वकर्ताको मानसिकतामै प्रश्न उठाए ।

संघमा आफु खुसी कर्मचारी नियुक्त गरेको, गलत तरिकाले प्रदेश प्रशिक्षक नियुक्त गरेको, क्यानको वार्षिक क्यालेन्डर बनाउन नसकेको उनीहरुको आरोप छ । त्यस्तै, नेतृत्वमा आएको २ वर्ष बितिसक्दा पनि संघको आयोजनामा राष्ट्रिय प्रतियोगिता गर्न नसक्नु, बोर्डमा छलफल नगरी खेल सामग्री खरिद गरेको राष्ट्रिय खेलकुद परिषदबाट आएको बजेटसमेत फ्रिज हुने अवस्था आएको भन्दै यसको जिम्मेवारी क्यान नेतृत्वले लिनुपर्ने उनीहरुको माग छ ।

गुटबन्दी गरेको आरोपमा अनुशासनको कारबाही गरेको क्यान बोर्ड आफैमा गुटबन्दीको शिकार भएका समाचारहरु आइरहँदा संघभित्रकै सदस्य बोर्डविरुद्ध सार्वजनिक रुपमा लाग्नुले यसको पुष्टि गरेको छ । त्यसैले खेलाडीलाई अनुशासन आचारसंहिताको पाठ पढाउने क्यान नेतृत्व आफैमा विधि विधान अनुरुप चल्न नसक्नुलाई के भन्ने ?