१४ बैशाख २०८१, शुक्रबार

सत्ता समिकरणका लागि दाहाल–नेपालको निरन्तर दौडधुप

prachanda madhav
फाइल फोटो

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सत्ता समिकरणका लागि दौडधुपमा छन् ।

काठमाडौं आएपछि प्रचण्ड र नेपालले दौडधुप सुरु गरेका हुन् । बुधबार बिहान चितवनबाट काठमाडौं आएलगत्तै प्रचण्ड र नेपालले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा नेताहरूसँग सामान्य परामर्श गरी बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

त्यसपछि प्रचण्डले पेरिसडाँडामै पुगेर जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका थिए । त्यसपछि दाहाल–नेपाल पक्षको स्थायी समिति बैठक बसेको थिया े। त्यसपछि भने संसद् भवनमा यो पक्षको दलको अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकले पनि ओलीको राजीनामा माग गरेको थियो ।

यही श्रृङ्खला आजसमेत निरन्तर चल्यो । बिहानै नेकपा उपाध्यक्ष वामदेव गौतमसँग प्रचण्डले लामो छलफल गरे । त्यसपछि पार्टी कार्यालय पेरिसडाँडामा जसपाका नेता श्रेष्ठकै पहलमा महन्थ ठाकुर र राजेन्द्र महतोसँग प्रचण्ड र माधवकुमार नेपालसँग् भेट गराए । डेढ घण्टा लामो भेटमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित भएको छ ।

पेरिसडाँडामा भएको छलफलमा नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले सत्ता समीकरणमा साथ दिन सजपा नेतालाई आग्रह गरे । प्रचण्ड र नेपालले यस्तो आग्रह गरेपछि जसपा नेताहरुले भने नेकपा आधिकारिकताको प्रश्न गरेका छन् । नेता महन्थ ठाकुरले छलफलका क्रममा नेकपाको आधिकारिकताबारे प्रश्न गरेका हुन् । उनले आधिकारिकताको विषय टुंगो नलाग्दासम्म सहकार्य गर्न सक्ने अवस्था नहरेकोसमेत प्रष्ट पारेका छन् ।

‘तपाईंहरुको पार्टी कुन हो ? पहिला तपाईंहरु पार्टीको टुंगो लगाउनुहोस्’, छलफलमा सहभागी राजेन्द्र महतोले महन्थ ठाकुरको भनाइ उधृत गर्दै भने, ‘नेकपाको आधिकारिताको विषय टुंगो नलाग्दासम्म सहकार्य हुन सक्ने अवस्था हुँदैन ।’ प्रचण्ड र नेपालले सत्ता समीकरणमा साथ दिन आग्रह गरेपछि जसपाका नेताहरुले पार्टी नभएसम्म सरकार बनाउन नसकिने भन्दै यस्तो प्रश्न गरेका हुन् ।

नेता महतोले सत्ता समीकरणको विषयमा पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने तर त्यसअघि पार्टीको आधिकारिताको विषय टुंगो लाग्नुपर्नेमा जोड दिएको बताए । छलफलपछि पत्रकारसँग कुरा गर्दै महतोले भने, ‘पहिला पार्टी चाहियो । यो विषय राखेका छौँ । उहाँहरुको कुरा सुनेपछि हाम्रो पार्टीको बैठकमा छलफल गरेर जानकारी दिने बताएका छौँ ।’