१४ बैशाख २०८१, शुक्रबार

मनहरी गाउँपालिकाका उपाध्यक्षद्वारा पदबहाली

Manila

उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले कार्यालय पुगेर पुनर्बहाली गर्नुभएको छ । उहाँले लिखित राजीनामा दिनुभएको भनी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गर्नुभएको थियो । उपाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेका तर्फबाट विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उहाँले हेटौँडामा पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोध राखी अवैधरुपमा लेखिएको राजीनामालाई स्वीकृत गरी तत्काल उपाध्यक्ष पदको दैनिक कार्य सञ्चालन गर्ने अधिकारबाट वञ्चित गरिएको जानकरी दिनुभयो । आफूले उक्त अवैध राजीनामालाई बदर गरी साबिक बमोजिम उपाध्यक्ष पदमा कामकाज गर्न उच्च अदालत इजलास पाटन हेटौँडा उत्प्रेषणयुक्त परमादेश आदेश पाऊँ भनी गत पुस २८ गते निवेदनपत्र दर्ता गरिएको थियो । यही फागुन ५ गते उच्च अदालत पाटन हेटौँडा इजलासबाट मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टलाई साबिक बमोजिमै पुनर्बहाली गर्नु भनी अदेश दिएको थियो ।