१४ बैशाख २०८१, शुक्रबार

अर्थमन्त्रीद्वारा सिद्धार्थ केवलकारको शिलान्यास

cabled car rupandehi

ऐतिहासिक, पुरातात्विक र पर्यटकीय बुटवल नगरीबाट पाल्पाको नुवाकोट गढीसम्म सञ्चालनमा आउने सिद्धार्थ केवलकारको आज शिलान्यास गरिएको छ । सो केवलकारको आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभएको हो । अर्थमन्त्री पौडेलले विकासका दृष्टिले रुपन्देहीलाई मुलुककै नमूना जिल्लाका रुपमा स्थापित गरिने बताउनुभयो ।

उहाँले जिल्लालाई नमूना जिल्लाका रुपमा स्थापित गर्न सबैको साथ र सहयोग हुनुपर्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका मुद्दामा सबै एकताबद्ध भएर उभिने सङ्कल्प गराँै ।” अर्थमन्त्री पौडेलले विकासको महत्वपूर्ण पाठशाला रुपन्देही बनेको भन्ने सन्देश यहाँ सञ्चालित ठूलाठूला आयोजनाहरूले दिएको पनि बताउनुभयो । विकास सिक्न र पढ्नका लागि जानुपर्ने जिल्लाका रुपमा रुपन्देही स्थापित भइसकेको चर्चा गर्नुभयो ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रको लगानीमा निर्माण हुने आयोजना राष्ट्रका गौरव रहेको उल्लेख गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट पर्याप्त सहयोग रहने बताउनुभयो । उहाँले रुपन्देहीमा विकासका महत्वपूर्ण आयोजनाहरू निर्माणका क्रममा रहेको बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको र अब दोस्रो चरणको अत्याधुनिक विमानस्थलको काम शुरु हुने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पूरा गर्न सरकारले आवश्यक बजेटको समेत ब्यवस्था गरेको बताउनुभयो । यस्तै बेलहिया बुटवल छ लेन सडक निर्माण सम्पन्नसँगै बुटवल राजमार्ग चौराहादेखि चिडियाफेदीसम्मको सडक विस्तारको काम शुरु भएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सिद्धबाबामा सुरुङ मार्ग निर्माणको प्रक्रियाका लागि केही साताभित्रै टेन्डर आह्वानको तयारीमा रहेको, बुटवल पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम अघि बढाइने बताउनुभयो । यस्तै बुटवल नारायणघाट राजमार्गको कामले तीव्रता पाएको र सरकारले बुटवल गोरुसिङ्गे राजमार्गको स्तरोन्नतिका लागि डिपिआर निर्माणका क्रममा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले केवलकार निर्माण र सञ्चालनपछि भौतिक पूर्वाधारको विकाससँगसँगै आर्थिक गतिविधि पनि बढ्ने बताउनुभयो । उक्त केवलकार रु करीब ८० करोडको लगानीमा निर्माण हुन गइरहेको र यसको निर्माण पश्चात बुटवलको पर्यटन व्यवसायलाई गति दिने विश्वास पर्यटन व्यवसायी तथा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालको छ ।बुटवल तथा यस आसपासका व्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा हुने विश्वास गरिएको सिद्धार्थ केवलकार प्रालिका अध्यक्ष इं राजेन्द्रसिंह गुरुङले जानकारी गराउनुभयो ।

यसमा २५ वटा गण्डोल हुने र दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने र एक तर्फीरुपमा जान वा आउन आठ मिनेटको समय लाग्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।यो केवलकार निर्माणका लागि भारतको कलकत्तामा रहेको कन्वेयर एन्ड रोप वे सर्भिसेजसँग सम्झौता भइसकेको छ । यो परियोजनामार्फत बुटवल टेक्निकल इन्स्टिच्युटले प्रविधि भित्र्याउँदै छ । “हामीले प्रविधि भित्र्याउने मात्र हैन जनशक्ति उत्पादन गर्नका लागि पनि आवश्यक तयारी गरेका छौँ”, इन्स्टिच्युटका कार्यकारी निर्देशक पिएल श्रेष्ठले भन्नुभयो । यसअघि बुटवलबाट पाल्पाको वसन्तपुरका लागि लुम्बिनी केवलकारको एक साताअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।