७ बैशाख २०८१, शुक्रबार

नयाँ जनादेशमा देश अगाडि बढ्यो : गृहमन्त्री थापा

md biratnagar 6

नेकपाका स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले देश नयाँ जनादेशको अभियानमा अगाडि बढेको बताउनुभएको छ । नेकपा प्रदेश नं १ कमिटीद्वारा आयोजित जनसभामा उहाँले मुलुकभित्र तथा बाहिरबाट हुने अस्थिरता, षडयन्त्र, विकास विरोधी कार्यविरुद्ध एकजुट हुन र राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको रक्षाको लागि नयाँ निर्वाचनमा समावेश हुन आग्रह गर्नुयभो ।

कोभिडका कारण देश विषम परिस्थितिमा रहेका बेला फूटवादी सोच आउनु असमान्य भएको उल्लेख गर्दै उहाँले मुलकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भएकाले सोविरुद्ध शुद्धीकरण अभियानअन्तर्गत जनसभाको आयोजना गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विकास र समृद्धि, राजनीतिक स्थायित्वका लागि नयाँ निर्वाचनको लागि संसद्् विघटन गर्नुभएको दाबी गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “नयाँ जनादेशका लागि जनतासमक्ष जानु लोकतान्त्रिक र अग्रगामी कदम हो । कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न मेची महाकाली अभियान शुरु गरिएको हो ।”

विगत तीन वर्षमा सरकारले राष्ट्रिय एकता र अखण्डता सुदृढीकरण गरेको चर्चा गर्दै उहाँले राष्ट्रिय राजनीतिबाट बाहिर रहेका राजनीतिक दललाई मुलधारमा ल्याएको उल्लेख गर्नुभयो । उहाँले नेकपाको नेतृत्वलाई मुलुकको विकास र समृद्धिका लागि विजयी गराउन सबैलाई आग्रह गर्नुभयो ।

जनसभामा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पार्टीभित्रको फोहरी खेलबाट मुलुकबाट जोगाउन प्रधानमन्त्री ओलीको नयाँ जनादेशको निर्णय सही भएको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन कायम गर्न र विभिन्न वाधा व्यवधान पन्छाउन निर्वाचन अपरिहार्य भएको दाबी गर्नुभयो ।

नेकपा स्थायी कमिटीका सदस्य एवं संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङ्गले आगामी निर्वाचनलाई जानताले अनुमोदन गरेको बताउनुभयो । उहाँले तराई, मधेश, पहाड हिमालका जनता र विविध संस्कृतिका जनता सडकमा उर्लेर यसलाई अनुमोदन गरेको तर्क गर्नुभयो ।

‘जनताको उपस्थितिले प्रधानमन्त्रीको निर्णय सही हो भन्ने फैसला आएको छ’ भन्दै उहाँले यही फागुन १२ देखि १५ गतेभित्र सर्वोच्च अदालतको फैसला आउने बताउनुभयो ।

भेलामा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत, संविधान सभाका सदस्य बालकृष्ण ढुङ्गेल, नेकपाका केन्द्रीय सदस्य भगवती चौधरी, रामलाल साह, विनोद ढकाल र नेकपा प्रदेश प्रमुख देवराज घिमिरेले मुलुकमा दिगो शान्ति, विकास र समृद्धि कायम गर्न ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णय सही भएको बताउनुभयो ।