Close Me
२९ माघ २०८१, मंगलवार

मुख्यमन्त्री पौडेलद्वारा भक्तपुर अस्पतालको अनुगमन

Bhaktapur Hospital
फाइल फोटो

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस स्वास्थ्य क्षेत्रमा आगामी ५० वर्षसम्म नहुने परिवर्तन ल्याएको बताउनुभएको छ । भक्तपुर अस्पतालको आज अनुगमनका क्रममा उहाँले कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारीको बीचमा स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको दाबी गर्नुभयो ।

विसं २०७२ को भूकम्पपछि पनि देशका शैक्षिक संस्थाका भौतिक परिवर्तन आएको बताउँदै उहाँले कोभिड–१९ ले स्वास्थ्य क्षेत्रमा आगामी ५० वर्षमा हुन नसक्ने परिवर्तन एकै पटक ल्याएको भनाइ राख्नुभयो । कोभिड–१९ को महामारीले स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने अवसर दिएको भन्दै उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा व्यापक परिर्वतन गर्ने अभियान शुरु गरेको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेशमा सरकार मातहत रहेका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालको सेवामा आएको सुधारलाई अझै परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । भक्तपुर अस्पताल बागमती प्रदेशको उत्कृष्ट अस्पताल बन्न सफल भएको भन्दै यो प्रदेशको ठूलो अस्पताल रहेकाले यो अस्पताललाई आवश्यक पूर्वाधार प्रविधिलाई थप गर्दै लैजानु आवश्यक रहेको औँल्याउनुभयो ।

मुख्यमन्त्री पौडेलसँगै पूर्वमन्त्री महेश बस्नेत, प्रदेश सांसद शशीजङ्ग थापा र सरस्वती वाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालसहितको टोलीले अस्पतालको अनुगमन गर्नुभएको थियो । अनुगमन टोलीलाई अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले अस्पतालले गरेको सुधारका बारेमा जानकारी गराउनुभएको थियो । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सुमित्रा गौतमले यसै वर्ष भक्तपुर अस्पतालको क्षमता विस्तार गरेर २०० श्ययामा विस्तार गर्ने लक्ष्य रहेको बताउँदै त्यसका लागि भएका तयारीबारे जानकारी गराउनुभयो ।