७ बैशाख २०८१, शुक्रबार

सरकारकाे क्रियाकलाप निर्लज्ज र दमनकारी

narayan kaji shrestha
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी आन्दोलनरत पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडाँमा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभाको विघटन पछि कामचलाउ बनेको ओली सरकारले कानून विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताउनुभएको हो ।

यस्तो कदम केही समयका लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधि सभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरित गैह्र कानूनी ढंगले ज्यादतिपूर्ण, बलमिच्याहिंपूर्ण, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।’

प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेसी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरु प्रतिवद्ध रहेको र कुनैपनि हालतमा रक्षा गरी छाेड्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यसप्रकारको दमनकारी क्रियाकलापलाई पूरै बन्द गर्दै र नेपालमा फेरि सामाजिक, आर्थिक रुपान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौं ।’

निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाई गरेको प्रति आफूहरु सन्तुष्ट नरहेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । तरपनि ढिलोचाँडो संविधान र कानून अनुसार फैसला गर्ने विश्वास आफूहरुले गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले ढिलाई गरेको कुराप्रति हामी सन्तुष्ट छैनौं । तरपनि संवैधानिक अंगहरु सबैले संविधान र कानून अनुसार ढिलोचाँडो सही फैसला गर्नेछन् भन्ने अपेक्षा गर्दछौं ।’

शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षा समेत गरेको छ । प्रवक्ता श्रेष्ठले आन्दोलनको संघर्षमा सत्तासिन गुट बाहेक सिंगो देश एकतावद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्याङ्कन बैठकले गरेको बताउनुभयो । सर्वोच्च आदालतले पनि संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधीन मुद्दाका बारेमा फैसाला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधान सम्मत ढंगले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्ने छ भन्ने विश्वास व्यक्त गरेको छ ।’

सडक संघर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानूनी लडाई समेत लडिरहेको सन्दर्भमा घोषणा गरिएको सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यस्तै, पार्टी एकीकरणका काम छिट्टै पूरा गर्ने र त्यस अन्तर्गत प्रदेश कमिटीका पदाधिकारीहरुको पूर्ति, जिल्ला कमिटीका पदाधिकारीहरुको पूर्ति र केन्द्रीय निकायको एकीकरणको कामलाई पूरा गर्ने विषय केही दिन भित्रमा पूर्ण गरिने र त्यसको निम्ति प्रदेश कमिटी र जिल्ला कमिटीले समेत पाएको जिम्मेवारी र अधिकारको बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी बैठकमा अध्यक्ष द्वयले गराउनु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।