fbpx
२५ फाल्गुन २०७७, मंगलवार

बुढीखोलास्थित नहरको संरचना जोखिममा

मोरङको बुढीखोलास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर संरचना अत्यधिक जोखिममा परेको छ । बर्सेनि वर्षायाममा खोलामा आउने बाढीका कारण कटानले तीव्रता लिएपछि खोलाको पुल र नहर जोखिममा परेको आयोजनाले जनाएको छ ।

खोलाको पूर्व र पश्चिम तथा दक्षिणतर्फबाट तीव्रगतिमा कटान भइरहेको छ भने यसलाई बचाउन आयोजनाले नदीको पानी खस्ने ठाउँमा सिमेन्ट, कङ्क्रिट ब्लक र ढुङ्गासहितको तारजाली लगाउनुपर्ने आवश्यकता देखिएको छ । बुढीखोला नहरको संरचना १६५ मिटर लम्बाइको एक्वाडक्ट कम ब्रिज हो । खोला दिनप्रतिदिन गहिरिँदै जानाले पनि नहर संरचनाको जोखिम बढेको हो ।

यदि यो संरचना नदी कटानका कारणले भत्कियो भने मोरङमा रहेका नौवटै शाखा नहरहरु छुरछुरिया, हरिनगरा, विराटनगर, वरियाती, नयाँपट्टि, आमझोडा, रञ्जनी, चिस्याङ र झमनपुरमा आश्रित कृषक सिँचाइबाट वञ्चित हुने अवस्था सिर्जना हुन्छ । तीन वर्ष पहिले मोरङको लोहन्द्राखोलास्थित नहरको संरचनालाई बाढीले बगाएपछि छ शाखामा आश्रित किसान अहिले पनि आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । यो संरचना बनाउन आयोजनाले रु २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का लगाइ काम भइरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिनुभयो ।

बुढीखोलामा अहिलेको जस्तै कटान लोहन्द्राखोलामा पनि देखिएको थियो तर आवश्यक बजेट अभावमा तत्काल काम गर्न नसकिएपछि नहरको संरचनालाई बाढीले बगायो भने त्यस क्षेत्रका करिब १० हेक्टर जग्गामा धानखेतीको समयमा किसानले पानीका लागि सास्ती व्यहोर्नुपरेको प्रमुख यादवले बताउनुभयो । उहाँले कुनै पनि समस्यालाई तत्कालै समाधानको उपाय गर्नुपर्नेमा जोड दिँदै सिँचाइजस्तो संवेदनशील क्षेत्रमा विभागले समयमै बजेट विनियोजन गरेर समस्या समाधानतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले लोहन्द्राखोलाको नहर यसै वर्ष सञ्चालन गर्न रु आठ करोड आवश्यक भन्दै अन्यथा बनेको संरचनालाई आउने बर्सातमा हुने बाढीले जोखिममा पार्न सक्ने बताउनुभयो ।

लोहन्द्राखोलाबाट पूर्वको बुढीखोलामा रहेको पुरानो नहरलाई बचाउन विभागले तत्काल रु एक करोड ५० लाख विनियोजन गर्नुपर्ने अयोजनाका डिभिजनल इञ्जिनीयर रमेशलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार बुढीखोलाको संरचनालाई जोगाउन तत्काल विभागबाट विनियोजित बजेट रु ३४ लाखको बोलपत्र आह्वान भइसकेको छ भने यस वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार रु ६२ लाख बजेट विनियोजन भई बोलपत्र आह्वान हुने अवस्थामा छ । उहाँले कुनै कारणले संरचना भत्किए मोरङमा सिञ्चित हुने २८ हजार अर्थात् ४२ हजार बिघा खेतमा सिँचाइ गर्न समस्या हुने बताउनुभयो ।

विराटनगर शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र माझीले बुढीखोलाको संरचना भत्कियो भने मोरङको कुनै पनि शाखा नहरमा पानी नजाने र यसबाट किसानलाई मात्र नभई राज्यलाई पनि धेरै नोक्सानी हुने बताउनुभयो । उहाँले विभागले समयमै यसको उपचार गर्नुपर्ने बताउनुभयो । हरिनगरा शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष सुजित माझीले धेरै पहिलेदेखि नै बुढीखोलाको संरचना बचाउनका लागि आवाज उठाइरहे पनि विभागले ध्यान नदिएकामा दुःख व्यक्त गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “अन्न उत्पादनको रूपमा चिनिने जिल्ला मोरङमा सिँचाइबिना कसरी बाली उत्पादन गर्न सकिन्छ ?”

बरियाती शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले दिनप्रतिदिन बुढीखोला गहिरिँदै गएको, नहरको संरचनाले पनि ५० वर्ष पार गरिसकेको उल्लेख गर्दै यसलाई बचाउनुको विकल्प छैन भन्नुभयो ।