१३ बैशाख २०८१, बिहीबार

चार वर्ष बित्दा पनि सम्पन्न भएन ढोलाहिटी–लेले सडक

lele sadak

विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ ।

सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म चौडाइ विवादकै कारण काम अघि बढ्न नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडक खण्डमा वन क्षेत्रमा बाहेक अन्यत्र बस्ती क्षेत्रमा चौडाइ बढाउन नसकिएको आयोजनामा सूचना अधिकारी लक्ष्मण देवकोटाले बताउनुभयो । उहाँका अनुसार बस्ती क्षेत्रमा चार÷पाँच मिटर चौडाइमा नै कालोपत्र भइरहेको छ । उहाँले भन्नुभयो, “जतिमा गर्न सकिन्छ त्यतिमा कालोपत्र गरेर पनि चाँडो टुङ्ग्याउन लागिएको छ ।”

सरकारले गत वर्ष विस्तारका क्रममा रहेका सडकमा जति चौडाइ उपलब्ध हुन्छ त्यतिमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत सडक विभागले निर्माण व्यवसायीलाई निर्माणस्थल उपलब्ध गराउन सकेको थिएन । सडक छेउका घरहरुले घर भत्काउन नमानेपछि सडक खाल्डैखाल्डा भएको थियो । सडकको प्रयोग गर्ने धेरै सवारी चालकले समेत कठिन यात्रा गर्नुपरेको थियो । सडक चाँडो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पटक–पटक सडक अवरुद्धसमेत गरेका थिए । सङ्गठितरूपमा घर भत्काउन नमानेका स्थानीयवासीले नै उपलब्ध चौडाइमा चाँडो कालोपत्र हुनुपर्ने माग गर्दै आएका थिए ।

विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडक पनि सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिइएको सूचना अधिकारी देवकोटाले बताउनुभयो । उहाँका अनुसार अघिल्ला वर्षहरुमा सडक चौडाइ बढाउन खोज्दा सडक निर्माण हुनसकेको थिएन भने गत आवमा कोभिड–१९ का कारण निर्माण अवरुद्ध बन्न पुगेको थियो । चालु आवमा काम गर्ने वातावरण भए पनि केही समय पहिलेसम्म गृह मन्त्रालयले खानीजन्य उद्योग बन्द गर्दा निर्माण सामग्रीको अभाव भएको थियो । सबै किसिमका समस्या हट्दै गएकाले अहिले अधिकांश स्थानमा निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, “अबको केही महिनाभित्रै सबै सडक सकाउनुपर्छ भनेर काम भइरहेको छ ।”

ठेचोबाट टाखेलसम्मको सडक गत आवमा नै सम्पन्न भइसकेको थियो । ढोलाहिटीबाट सुनाकोठी हुँदै ठेचोसम्मको सडक अहिले निर्माण भइरहेको छ । ढोलाहिटीबाट सुनाकोठीसम्म दुईवटा प्याकेजमध्ये एउटा प्याकेज सकिन लागेको र अर्काे प्याकेजमा बाँकी रहेकामा छिट्टै सकाउने लक्ष्य लिइएको देवकोटाले बताउनुभयो ।

सोही सडकको चापागाउँबाट–लेलेसम्मको सडक पनि सम्पन्न नभएको आयोजनाले जनाएको छ । अन्यत्र उपलब्ध चौडाइमा निर्माण भइरहेकामा टाखेलबाट टीकाभैरवसम्म वन क्षेत्रमा १४ मिटर चौडाइमा निर्माण भइरहेको छ । वन क्षेत्रमा माटो खन्ने काम भइसकेको र त्यहाँ सडक कालोपत्र बाँकी रहेको सूचना अधिकारी देवकोटाले बताउनुभयो । त्यो खण्डमा अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत छ । निर्माण शुरु भएको चार वर्षपछि सो सडक मापदण्डको आधाभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । बीस मिटर सडक कालोपत्र गर्ने विसं २०७३ र २०७४ मा ठेक्का सम्झौता भएकामा अहिले छ÷सात मिटर चौडाइमा कालोपत्र भइरहेको हो ।

सडकलाई यथास्थितिमै कालोपत्र गर्न सडकसँगै घर भएका स्थानीयवासीले माग गरेकाले चौडाइ नबढाई कालोपत्र गरिएको आयोजनाले जनाएको छ । सो सडकमा रहेका स्थानीय तहले पनि सडक विस्तार गर्नुभन्दा भएकै सडकमा कालोपत्र चाहेका थिए । ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा सडक रहेको छ । गोदावरीका पदाधिकारी घर भत्काएर सडक विस्तार गर्न नहुने पक्षमा रहेका र ललितपुरका पदाधिकारीले चासो देखाएका थिएनन् । सडक नजिक रहेका विभिन्न मठमन्दिर र पाटी भत्काउन नहुने भन्दै स्थानीयवासीले आवाज उठाउँदै आएका थिए । सडक विस्तारकै क्रममा हुँदा पनि सडक नजिकै रहेका पुरानो पाटी मर्मत र नयाँ पाटी निर्माण भएको थियो ।

सडक निर्माणका लागि ठेक्का सम्झौता हुँदा सडकमा पैदलयात्रु मार्ग, पानी बग्ने पाइपलगायतका संरचना निर्माण गर्ने उल्लेख थियो । सडकको चौडाइ बढाउन नसकिएकाले ती संरचनाको निर्माण भएको छैन । केही वर्ष पहिले सातदोबाटो–खुमलटार सडक पनि संरचना भत्काएर मापदण्डानुसार निर्माण भएको थियो ।

खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र सडक एक लेनको मात्रै छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायतका स्थानमा सडक साँघुरा छन् । टाखेलबाट लेलेसम्मको वन क्षेत्रमा मात्रै सडक एक लेनभन्दा बढीको बनेको छ । झण्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएको थियो । एउटा प्याकेजमा आव २०७३ मा र अरु दुई प्याकेजमा आव २०७४/७५ मा ठेक्का सम्झौता भएको थियो । ठेक्काको अवधि पछिल्लोपटक माघमा सकिँदैछ ।

    सम्बन्धित समाचार...