१८ बैशाख २०८१, मंगलवार

प्रदेश ३ को नाम बाग्मती राखिएकोमा विरोध, प्रदेशभर हड्तालको घोषणा

प्रदेश ३ को नाम बाग्मती राखिएकोमा विरोध, प्रदेशभर हड्तालको घोषणा

काठमाडौँ – माओवादी केन्द्र, नेवा–ताम्सालिङ प्रदेश समितिले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने निर्णय कुनैपनि हालतमा मान्य नहुने भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

आईतबार पत्रकार सम्मेलन गर्दै उक्त समितिले प्रदेश नम्बर ३ को प्रदेशसभा र सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरुद्धमा यही पुष २८ गते प्रदेश नम्बर ३ मा यातायात, शैक्षिक संस्था, उद्योग–कलकारखानासहित नेवा–ताम्सालिङ प्रदेशव्यापी हड्ताल गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको छ । त्यस्तै, देशभक्त जनसांस्कृतिक आन्दोलन सञ्चालन गरि नेवा–ताम्सालिङका शत्रुहरुलाई व्यापक जनकारबाही गर्ने र संयुक्त सडक आन्दोलन गर्ने कार्यक्रम पनि समितिले सार्वजनिक गरेको छ ।

प्रदेश समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेकपा (माओवादी केन्द्र) ले अगावै प्रदेश नं. ३ को नामाकरण नेवा–ताम्सालिङ गरियोस भनी प्रदेश सरकारका अधिकारी समक्ष ज्ञापन गरिएको हो । त्यस विपरीत सत्ताधारी डबल नेकपाको गोर्खाली अन्धराष्ट्रवादी बहुमतले नेवा–ताम्सालिङको ऐतिहासिक तथा सामुदायिक पहिचान कुल्चेर कथित बाग्मती नामाकरण थोपरेकोमा खेद प्रकट गर्दै नेकपा (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समिति उक्त फोहर बाग्मती नामाकरण खारेज गर्दछ ।

महान जनयुद्व र जन–आन्दोलनका उपलब्धीहरु एक पछि अर्को खोस्दै गणतन्त्र नै समाप्त पार्ने त्यस प्रतिक्रान्तिकारी अपराधको भण्डाफोरमा उत्रन देशभक्त एवं पहिचान पक्षधर जन–समुदायमा गम्भीर अपिल गर्दछ ।’