१० आश्विन २०७८, आईतवार

गाउँलेले ब्युँताएको विद्यालय

5fd5e264158be school class
फाइल फोटो

गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे । विद्यार्थी सङ्ख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै सङ्कटमा पर्यो ।

काठेखोला गाउँपालिका–७ रेशस्थित सो विद्यालय बन्द हुने स्थितिमा पुग्यो । अर्को विद्यालयमा गाभिनुपर्ने भयो । गाउँछिमेकको विद्यालय हट्ने कुराले स्थानीयवासीको मन कुँडियो । अघिल्लो पुस्ताको मेहनत र योगदान खेर जाने देखेर गाउँले निराश बने ।

दैलोको विद्यालय नचलेपछि पढ्न टाढा जान बाध्य बालबालिकाको पीडाले छोयो । अभिभावकको पनि मर्का बुझे । अझैपनि विद्यालय जोगाउन सकिन्छ की भनेर स्थानीयवासी लागिपरे । विद्यालय बचाउने जुक्ति निकाले । गाउँको सर्वपक्षीय भेला बस्यो ।

बन्दको मुखमा पुगेको विद्यालयलाई हरहालतमा जोगाउनेतिर भेलामा एकमत बन्यो । विद्यालयको दिगो व्यवस्थापन र पढाइको गुणस्तर सुधारमा स्थानीयवासी कस्सिए । जनप्रतिनिधिलगायत सामाजिक अगुवाले स्थानीयवासीको प्रयासमा आड र ढाडस दिए ।

एक वर्षको अन्तरालमा अहिले विद्यालयको मुहार बदलिएको छ । यसअघि कक्षा पाँचसम्म चलेको विद्यालयको स्तर घटाएर कक्षा तीनसम्म मात्र सञ्चालन गरिएपनि शून्यतिर ओरालो लागेको विद्यार्थी सङ्ख्या बढेर ४७ पुगेको छ ।

विद्यार्थीले अङ्ग्रेजी माध्यममा पढ्न पाएका छन् । “विद्यालय बन्दै हुन आँटेको थियो, विद्यार्थी नै नभएपछि नचाहेर पनि अन्य विद्यालयसँग एकीकरण गर्नै पथ्र्यो”, प्रधानाध्यापक भीमबहादुर थापाले भन्नुभयो, “समुदायको पहलमा विद्यालय जोगिएको छ ।”

अङ्ग्रेजी माध्यमसँगै विद्यालयले सिकाइमैत्री वातावरण दिएपछि पढ्न अन्यत्र गएका बालबालिका पनि सोही विद्यालयमा पुनः फर्केका छन् । अभिभावकको चाहना बुझेर विद्यालयको भौतिकसँगै शैक्षिक सुधारमा व्यवस्थापन समिति र शिक्षक खटिएका छन् ।

विद्यालयको आर्थिक सङ्कट टार्न अभियान चलाइएको छ भने शैक्षिक र व्यवस्थापकीय सुधारका लागि शिक्षा समिति, आर्थिक समितिलगायत क्रियाशील छन् । विद्यालयलाई आर्थिकरूपमा उकास्न अभियान थालिएको आर्थिक संयोजक थमबहादुर थापाले बताउनुभयो । विद्यालय सङ्कटमा फसेपछि स्थानीय साँघखोला–रातापहरा सामुदायिक वन उपभोक्ता समूहले यही वर्ष रु दुई लाख सहायता उपलब्ध गराएको थियो ।

“गाउँको विद्यालय समस्यामा परेपछि वनको बैठक राखेर तत्कालै रु दुई लाख दिने निर्णय गर्र्यौँ”, समूहका अध्यक्ष नारायणप्रसाद शर्माले भन्नुभयो । उहाँले व्यक्तिगत रूपमासमेत रु ५० हजारको अक्षयकोष विद्यालयमा राख्नुभएको छ । यस्तै वडाध्यक्ष प्रेम लामिछानेले पनि अक्षयकोषमा रु २५ हजार सहयोग गर्नुभएको छ ।

अहिले अक्षयकोषमा रु एक लाख २५ हजार जम्मा भएको छ । वडा र गाउँपालिकामार्फत विद्यालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक क्रियाकलापमा सघाइने वडाध्यक्ष लामिछानेले बताउनुभयो ।

“स्थानीयवासी नकस्सिएका भए विद्यालय रहने थिएन, वडाकै अर्को परोपकार प्रावि पनि यसरी नै बन्द हुनबाट जोगिएको छ”, उहाँले भन्नुभयो । विद्यालयले विद्यार्थीलाई खाजा, पोशाक उपलब्ध गराउने गरेको छ । अभिभावकले आलोपालो गरेर विद्यालयमै आई खाजा आफैँ बनाएर विद्यार्थीलाई खुवाउँछन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुष्मराज उपाध्यायले विद्यालय सुधारमा समुदायको योगदान अपरिहार्य रहेको बताउनुभयो । उहाँले विद्यार्थी घटेपछि एकीकरणको अभियान चलिरहेका बेला विद्यालय जोगाउन समुदायले गरेको अगुवाइ प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

“शिक्षा बिग्रिए सबै बिग्रन्छ, शिक्षालाई जगैदेखि सुधार्नुपर्छ”, उहाँले भन्नुभयो, “ठूलो भवन, कक्षाकोठा मात्र भएर पनि नहुने रहेछ, मुख्य कुरा विद्यालयमा सिकाइमैत्री वातावरण छ, छैन हेर्नुपर्छ ।” विसं २०४६ मा स्थापना भएको सो विद्यालयमा दुई दरबन्दी, एक राहत र चार निजी स्रोतका शिक्षक छन् ।

दरबन्दी कम हुँदा विद्यालयलाई अतिरिक्त आर्थिक भार छ । प्रअ थापाका अनुसार अझै पनि विद्यालय रु चार लाख घाटामा छ । “शैक्षिक वातावरणमा आएको सुधारले विद्यालयप्रति अभिभावक र विद्यार्थीको भरोसा बढेको छ, अब आर्थिक र व्यवस्थापकीयरूपमा मजबुत पार्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।