७ बैशाख २०८१, शुक्रबार

दुई तिहाइ मतका साथ प्रदेश ३ को राजधानी हेटौंडा

pradesh 3

प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

 राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । प्रदेश ३ काे राजधानी काभ्रेकाे धुलिखेल बनाउनु पर्ने पक्षमा ३ मतमात्र खसेपछि हेटाैँडा स्थायी राजधानी हुने पक्का भएकाे हाे ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।

प्रदेश ३ को राजधानी काभ्रपलाञ्चोक हुनुपर्ने पक्षमा सत्तारूढ नेकपाका अधिकांश प्रदेशसभा सदस्य थिए । उनीहरुले प्रदेशसभामा प्रस्तावसमेत लगेका थिए । हेटौंडाको पक्षमा मकवानपुर, चितवन र सिन्धुलीका सदस्यमात्र थिए । प्रदेश नं ३ को राजधानी र नाम सम्बन्धी प्रस्तावमाथि छलफल शनिबार सकिएको थियो।

तर नेकपा केन्द्रीय सचिवालयले हेटौंडा नै स्थायी राजधानी बनाउन प्रदेश कमिटीलाई निर्देशन दिएपछि नेकपाका सांसदले बाध्य भएर हेटौंडाको पक्षमा मतदान गरेका हुन् । कतिपय सांसदले पार्टी निर्णय नमान्ने चेतावनी दिए पनि अन्तिममा हेटौंडाको पक्षमा मतादन गरेका छन् ।

नेकपाले पार्टी निर्णय नमान्ने सांसदको पद जाने चेतावनी दिएको थियो । पार्टीभित्र हेटौंडा राजधानी हुनु हुँदैन भन्नेमा दुई तिहाइ बहुमत भए पनि केन्द्रको निर्णय कार्यन्वयन गर्नुपर्ने बाध्यता आइलागेको प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले बताएकी छन् । सांसदहरुले अँध्यारो अनुहार लगाउँदै हेटौंडाको पक्षमा मतदान गरेका थिए ।

प्रदेशसभामा हेटौंडाको विपक्षमा विवेकशील पार्टीमात्र उभिएको छ । प्रदेशसभाका ११० सिटमध्ये सभामुख सानुकुमार श्रेष्ठले मतदान गरेनन् भने नयाँशक्तिबाट निर्वाचित तर पछिल्लो समय स्वतन्त्र रहेका सांसद् प्रेम तामाङ मतदान प्रक्रियामा अनुपस्थित थिए ।

उनको प्रदेशको नाम नेवा ताम्सालिङ राख्ने प्रस्तावमा समर्थक समेत नपाएपछि प्रक्रियामा सहभागी नभएका हुन् । राजधानीबारे टुंगो लागेपछि प्रदेशसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । अब बस्ने बैठकले प्रदेशको नामबारे निर्णय गर्ने छ । प्रदेशको नामबारे भने एउटा मात्रै वागमती राख्ने प्रस्ताव परेको छ ।

प्रदेशसभा बैठकले ३ नम्बर प्रदेशको नाम वाग्मती पारित गरेको छ । आज बसेको प्रदेशसभाको बैठकले बागमती नामाकरण गरेको छ । सांसद इन्द्र बानियाँले प्रस्ताव गरेको नाम बागमतीको पक्षमा १ सय ८ मत खसेको छ । प्रदेशसभाको बैठकमा उपस्थित सबै सांसदको मत वाग्मतीको पक्षमा खसेको हो । दुईतिहाइ मत बाग्मतीको पक्षमा खसेकाले प्रदेश ३ को नामाकरण बागमती कायम भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे ।