१३ बैशाख २०८१, बिहीबार

म्याग्दीमा मतदाता नामावली अद्यावधिक तयारी

vote

बेनी– म्याग्दीमा आगामी आमनिर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरुआत हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा मतदाताको नामावली अद्यावधिक र दाबी विरोधका लागि कार्यक्रम सञ्चालन गर्न लागेको हो । सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेलगत्तै गत गतपुस ६ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको र पुस ५ गतेसम्म सङ्कलित मतदाता नामावलीलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली कायम गरिने कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका एक नगरपालिकासहित ६ स्थानीय तहमा मतदाताहरुको नामावली प्रकाशन गरिने र मतदाता नामावलीमा नाम, विवरण र दोहोरोपनमा देखिएका त्रुटि सच्च्याउने गरी अभियान सञ्चालन भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रमुख नाम दर्ता अधिकारीसमेत रहनुभएका निर्वाचन अधिकारी घिमिरेका अनुसार हरेक स्थानीय तहमा एक-एकजना सहायक नाम दर्ता अधिकारी रहने व्यवस्थाअनुरुप जिल्लाका ६ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारीहरुलाई तालीम दिएर खटाइसकिएको छ । स्थानीय तहकै कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाताहरुको नामावली टाँस गरिनेछ ।

उक्त नामावलीमा त्रुटि देखिएमा विवरण सच्च्याउन दरखास्त दिने, दोहोरो नाम भेटिएमा हटाउन निवेदन दिने, मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउन दाबी विरोध गर्न माघ १५ देखि १८ गतेसम्मको समय तोकिएको छ । मतदाता नामावली अद्यावधिक कार्यलाई प्रचारप्रसार र व्यापक बनाउनका लागि कार्यालयले आइतबार बेनीमा सरोकारवालासँग अन्तरक्रियासमेत गरेको छ । राजनैतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक सङ्घ संस्थाका अगुवाहरुसँग कार्यालयले अन्तरक्रिया गरी अभियानका बारेमा जानकारी गराएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले मतदाता नामावलीलाई त्रुटिरहित बनाउँदै निर्वाचनमा मतदाताको अधिकारको सुनिश्चित गर्नका लागि मतदाता अद्यावधिक आवश्यक रहेकामा जोड दिनुभयो । त्यस्तै प्रजिअ उमाकान्त अधिकारीले मतदाता नामावलीको शुद्धताले निर्वाचन प्रणाली विश्वसनीय हुने बताउनुभयो । उहाँले त्रुटिहरुले निर्वाचनमा विवाद हुने र स्वच्छतामा प्रश्न उठ्ने भएकाले अद्यावधिक कार्यक्रमलाई प्रभावकारी बनाउतर्फ सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।