१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसद्वारा यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न आग्रह

sher bahadur deuwa scaled

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि आवश्यक निर्णय गर्न पार्टीको प्रदेश संसदीय दललाई अधिकार दिनु व्यावहारिक र लोकतान्त्रिक हुने धारणा व्यक्त गर्नुभएको छ ।

प्रदेश नं १ र वाग्मती प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि कांग्रेसले लिनुपर्ने निर्णयसम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा छलफल गर्न सम्बन्धित प्रदेशका पार्टी केन्द्रीय सदस्यसँगको बैठकमा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

छलफलका क्रममा सभापति देउवाले राख्नुभएको धारणा विपरीत केही सञ्चारमाध्यममा अस्पष्ट र भ्रमपूर्ण समाचार प्रकाशन भएको भन्दै कांग्रेसले ध्यानाकर्षणसहित भ्रम निवारणार्थ आज प्रेस नोट जारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न सबैमा आग्रहसमेत गर्नुभएको छ ।

सभापति देउवाले सो विषयमा छलफल गर्न यही माघ ७ गते प्रदेश नं १ तथा माघ ९ गते वाग्मती प्रदेशअन्तर्गतका पार्टी केन्द्रीय सदस्यहरूको बैठक बोलाउनु भएको थियो । दुवै बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता थियोे ।