१४ बैशाख २०८१, शुक्रबार

गोर्खाबाट सुरु भयो पृथ्वीनारायण शाहको एकीकरण झल्काउने गोरखादेखि काठमाडौंसम्म पदयात्रा

gorkha sainik yatra push18

उही पुराना बस्त्र, उस्तै टोपी, उसैगरी लिएका छन् बन्दुक। गोर्खाली फौज हिँडेको बाटोमा आजदेखि सेनाको पदयात्रा

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा प्रयोग भएका सेनाका बस्त्र र बन्दुक लिएर गोर्खाली सेना काठमाडौंको यात्रामा निस्किएको छ। भ्रमण वर्षलाई सघाउने गरी पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा सुरु गरेको हो।

नेपाल एकीकरणका क्रममा शाहका गोर्खाली फौजले प्रयोग गरेको बाटोलाई प्रवर्द्धन गर्न तथा एकीकरणको सम्झनामा टर्च र ऐतिहासिक ५ वटा झण्डासहित नेपाली सेनाले शुक्रबारदेखि पदयात्रा थालेको हो।

पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नामका कम्पनी थिए। सोही कम्पनी अहिले पनि नेपाली सेनाको गणका रूपमा स्थापित छन्। पदयात्रामा शाहकालीन गोर्खाली सेनाको पोसाक लगाएका पल्टन र गोरखास्थित रणसिंह दल गणका ४५ जना सहभागी छन्।

1578029474senaगोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पुस २७ गते काठमाडौंको हनुमानढोका पुग्ने आयोजक गोरखाको रणसिंह दल गणका गणपति उज्वल केसीले जानकारी दिए। सरकारले गोरखादेखि काठमाडौं हुँदै काभ्रेसम्मको १ सय ९२ किलोमिटर बाटोलाई एकीकरण पदमार्गको रूपमा प्रवर्द्धन गर्न लागेको छ।

‘एकीकरणको दौरानमा प्र्रयोग भएको रूटलाई पर्यटनसँग जोड्ने लक्ष्य हो। पृथ्वी जयन्ती पनि परेको हुँदा यो रूट निकै महत्त्वपूर्ण हुनेछ,’ केसीले भने, ‘ऐतिहासिक गढी र किल्लाहरूको संरक्षण र विकास गर्ने सरकारको केन्द्रीय कार्यक्रम नै छ। यसको जिम्मा नेपाली सेनाले लिएको भएर हामीले यो पदयात्रा थालेका हौं।’

गोरखाबाट रणसिंह दल गणको टोलीले सुरु गरेको पदयात्रा घाटबेशी हुँदै धादिङमा तैनाथ देवीदत्त गणलाई आजै साँझसम्म बुझाउनेछ। धादिङको गणले विभिन्न ठाउँमा कार्यक्रम गर्दै तेस्रो दिनमा नुवाकोटको जबरजंग गणलाई टर्च र झण्डा दिनेछ। नुवाकोटले पनि विभिन्न ठाउँमा कार्यक्रम गर्दै २६ गते काठमाडौंको टोलीलाई बुझाउनेछ। काठमाडौंको टोली २७ गते हुने विशेष कार्यक्रममा सहभागी हुनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै पश्चिम पृतनाका उपरथी गोकुल भण्डारीले यो यात्रा सकिएपछि पश्चिमी क्षेत्रको पदमार्गसमेत प्रचलनमा ल्याउने बताए। कार्यक्रमलाई गोरखा नगरपालिका, दरबार हेरचाह अड््डा, भीमसेन थापा गाउँपालिकालेसमेत सहकार्य गरेको छ। सेनासहित, जनप्र्रतिनिधि र पत्रकार तथा अन्य सङ्घ संस्थाका प्रतिनिधि पदयात्रामा सहभागी छन्।