१६ बैशाख २०८१, आईतवार

नेपालीको जस्तो अनुहार भएको भन्दै भारतमा पासपोर्ट दिन अस्वीकार

Indian Passport

अहिले भारतमा नयाँ नागरिकता कानुनका कारण विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । यहीबीच भारतको हरियाणामा बस्ने दिदीबहिनीलाई उनीहरूको अनुहार नेपालीको जस्तो भएको भन्दै पासपोर्ट दिन अस्वीकार गरिएको छ ।

घटना विवादित बनेपछि सरकारले कारवाही अघि बढाएको छ । हरियाणाका गृहमन्त्री अनिल विजले बिहीवार अधिकारीहरूलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

सन्तोष र हिना नामक दिदीबहिनीले पासपोर्टका लागि निवेदन दिएका थिए । तर उनीहरू नेपाली जस्तो देखिने भन्दै पासपोर्ट दिइएन । अनि दिदीबहिनीले मन्त्री विजसमक्ष उजुरी गरे ।

सन्तोष र हिना केही दिनअघि चण्डीगढस्थित क्षेत्रीय पासपोर्ट कार्यालय गएका थिए । उनीहरूको कागजातमा लेखियो, ‘निवेदकहरू नेपाली देखिन्छन्’ ।

पछि उनीहरूले हरियाणाका मुख्यमन्त्रीलाई सम्पर्क गरे र उनले अधिकारीहरूलाई घटनाको जाँच गर्न भने । अधिकारीहरूले प्रक्रिया शुरू गरिएको र छिट्टै पासपोर्ट जारी गरिने बताएका छन् ।

दुई बहिनीमध्ये एकले भनिन्, ‘हामीहरू चण्डीगढमा पासपोर्ट अफिस जाँदा उनीहरूले हाम्रो अनुहार हेरेर हामी नेपाली हौं लेखिदिए । उनीहरूले हामीलाई राष्ट्रियता साबित गर्न लगाए । हामीले माननीय अनिल विजसामु गुनासो गरेपछि हाम्रो पासपोर्ट बन्ने प्रक्रिया शुरू भयो ।’ एजेन्सी