
इरानको कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी हवाई आक्रमणमा मारिएका छन् । जनरल कासिम सोलेमानी बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अधिकारीहरुका अनुसार यो हमलामा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहांदिस पनि मारिएका छन् ।
अमेरिकी सेनाले यो हवाई हमला गरेको समाचारहरुमा उल्लेख छ । इरानको कुद्स फोर्सले पनि अमेरिकी हेलिकप्टरले आक्रमण गरेको आरोप लगाएर जनरल सोलेमानीको मृत्यु भएको पुष्टि गरेको छ ।
सन् १९९८ देखि मेजर जनरल कासेम सोलेमानीले इरानको कुद्स फोर्सको नेतृत्व लिएका थिए । उनले सिरियाली गृहयुद्धमा बशर अल–असादको इरानी समर्थित सरकार र इराकमा इस्लामिक स्टेट (आईएस) समूहकाविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
जनरल सोलेमानी इरानी शासन प्रणालीमा अत्यन्त महत्वपूर्ण व्यक्तित्व मानिन्छन् ।