१३ बैशाख २०८१, बिहीबार

सिद्धबाबा धरौटीमा रिहाइको आदेशविरुद्ध उच्च अदालतमा मुद्दा

siddha baba

एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबारे जिल्ला अदालतले गरेको निर्णयका विरुद्ध सरकारी वकिलको कार्यालयले विराटनगर उच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।

बलात्कार गरेको अभियोग पक्राउ परेका सिद्धबाबालाई गत सोमबार सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सो आदेश त्रुटीपूर्ण भएको ठहर गर्दै त्यसको बदरको माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दर्ता गरेको हो । जसमा जिल्ला अदालतको आदेशमा कानुन, प्रमाण र तथ्यमा आधारित नभएकाले थुनछेक बहसपछिको आदेशप्रति चित्त नबुझी प्रतिवादी सिद्धबाबालाई थुनामा राखी पुर्पक्ष गर्नुपर्छ भन्ने माग गरिएको छ ।