fbpx
१९ फाल्गुन २०७७, बुधबार

राना थारु समुदायको मौलिक पहिरन संरक्षणको प्रयास

आकर्षक पहिरनका लागि कैलाली र कञ्चनपुर जिल्लाका आदिवासी रानाथारु समुदाय धनी मानिन्छ । सो समुदायका महिलाले लगाउने विशिष्ट प्रकारको मौलिक परम्परागत पहिरनको आकर्षण पछिल्ला वर्षमा बढ्न थालेको छ ।

सामाजिक सञ्जाल फेसबुक, युट्युवलगायतमा राना थारु समुदायका पहिरनको प्रचारप्रसारमा जोड दिन थालिएपछि विगतमा हराउँदै जान थालेको सो पहिरनको संरक्षणमा पनि टेवा पुगिरहेको जनाइएको छ । युवा पुस्ताका महिलाले सांस्कृतिक समारोह, विवाह भोजभतेर र चाडपर्वमा परम्परागत पहिरन लगाएर जाने गर्दा अन्य समुदायका व्यक्ति पनि यो पहिरनप्रति लोभिन थालेका छन् ।

राना थारु समुदायका महिलाको पहिरन अन्य समुदायका भन्दा भिन्न र आकर्षक देखिन्छ । महिलाले लगाउने घघँरिया, अँगिया र उढनिया(उनियाँ) मुख्य पहिरन हुन्् । परम्परागत पहिरन खण्डखण्ड जोडेर निकै आकर्षक रुपमा तयार गरिन्छ । विभिन्न कपडाको मिश्रणसंँगै गोट, तोइ, मगजी, घुट्टा, कञ्चट, सबैया, कसिदा, अरसी, टिकुली, गिडासी,फुल्वा, सितारा र कन्ठी चालालाई जोडेर घघँरिया बनाइन्छ । अँगियामा मडना, मग्जी, बहँटी, कखौटी, जोकी, पछुवा, लाक, छाती, पछौटी, झालर, तिरपर, तनी, ताना जोडिन्छ । “महिलाले लगाउने पहिरन हातबुना हुने गर्छन् ।

यो पुस्तौँदेखि हस्तान्तरण हुदै आएको छ”, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका— ४ असैनाका सुग्रीव रानाले भन्नुभयो, “महिलाहरुले लगाउने घघँरियालाई आकर्षक बनाउनका लागि पछाडिपट्टिको भागमा सितारा, सिसा, कण्ठीलगायत जोड्ने गरिन्छ । यसले सुन्दरतालाई थप निर्खान मद्दत पुरयाउ छ ।” घघँरियाको मोटो भागले शरीरको तल्लो अङ्ग ढाक्नका लागि निकै सहयोग पु¥याउँछ नै, लगाएर हिँड्नका लागि समेत महिलाले निकै सहज महसुस गर्छन् । टाढैबाट पहिरन देखेर नै रानाथारु समुदायका महिला भनी चिन्न सकिन्छ ।

यसको संरक्षणका लागि पछिल्ला वर्षमा जागरणका कार्यसमेत हँुदै आएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि रानाथारु समुदायका परम्परागत पहिरन बनाउन आवश्यक तालीमको व्यवस्था गर्नका लागि बजेट विनियोजनसमेत हुँदै आएको छ । यसबाट सीप सिकेर महिलालाई आफ्नो परम्परागत पहिरनलाई निरन्तरता दिनमा टेवा पुगिरहेको छ ।फतुई र अँगिया पहिले महिला र पुरुषले शरीरको माथिल्लो भाग ढाक्नका लागि ‘फतुई‘ लगाउँथे । हाल त्यो लगाउने चलन भने हट्दै गएको छ । फतुई मोटो कपडाको बनाइन्थ्यो ।

फतुईको अगाडिको भागमा चाँदीका सिक्का जडान गरी सजाइन्थ्यो । चाँदीका सिक्काले सजाइएका फतुई आकर्षक र सुन्दर हुन्थ्यो नै, त्यसअतिरिक्त दुश्मनबाट बच्नका लागि प्रतिरक्षाको कार्यसमेत हुन्थ्यो । तरवारलगायत हतियारको प्रयोग गरे फतुईमा लगाइएका चाँदीका सिक्काले शरीरमा चोटपटक लाग्न दिँदैनथ्यो । यो पहिरन तयार पार्न निकै खर्चिलो हुने भएकाले धेरैले यसलाई बनाउन र लगाउन छाडेको रामभरोसे राना बताउनुहुन्छ ।

अँगिया महिलाले शरीरको माथिल्लो भागमा लगाउँछन् जुन निकै आकर्षक र बुट्टेदार हुन्छ । सितारा, फुलबुट्टासंँगै कडाइ गरेर सजाइने गरिन्छ । उनियाँ टाउकामा ओढ्नका लागि बनाइन्छ । त्यससमेत बुट्टेदार हुन्छ । समुदायका महिलाले लगाउने पहिरन बनाउन त्यत्ति सजिलो छैन । निकै कलात्मक र परम्परागत शैलीमा बनाउनुपर्ने, बुट्टा भर्नु पर्ने भएकाले जोकोहीले बनाउन भने सक्दैनन् । यसका लागि सीप सिक्नुपर्ने हुन्छ । “परम्परागत पहिरन बनाउने थोरै मात्र हुन्छन्”, राना थारु समुदायका अगुवा जगता रानाले भन्नुभयो, “पुर्खौंँदेखि विशिष्ट प्रकारको पहिरन बनाउनका लागि बूढापाकाले हाल तन्नेरीहरुलाई सीप सिकाउँदै आएका छन् ।‘‘

सो पहिरन बनाउन सिकाउँदै आउनुभएका सदादेवी राना रानाथारु बेग्लै किसिमको पहिरन आफ्नो समुदायको पहिचान भएकाले जगेर्ना गर्ने कार्यमा युवा पुस्ता सचेत देखिएको अनुभव सुनाउनुहुन्छ । “साधारण किसिमका पहिरनभन्दा राना थारु समुदायका महिलाले लगाउने पहिरन विशिष्ट प्रकारको भएकाले बढी खर्चिलो छ”, उहाँले भन्नुभयो, “एउटै पोशाक तयार गर्न धेरै समय र लागत रु १० हजार बढी खर्च लाग्ने हुन्छ ।”

सो पहिरनको महत्व जान्न थालेपछि पहिरनबारे सीप सिक्नका लागि आउनेहरु बढ्दै गएका छन् । कञ्चनपुर जिल्लामा मात्रै हालसम्म ३०भन्दा बढी थारु महिलाले लगाउने पहिरन बनाउने सीप सिकेर दक्ष भएको जनाइएको छ । विभिन्न चलचित्र र म्युजिक भिडियोमा रानाथारु समुदायको पहिरनलाई प्राथमिकतामा राख्न थालेपछि यसले चर्चा बटुल्न थालेको छ । परम्परागत गरगहना हराउँदै परम्परागत गहना बनाउने कालिगढ नहुँदा सो समुदायका महिलाले लगाउने गहना भने हराउँदै जान थालेको छ । महिलाहरु विगतमा शिरदेखि पाउसम्म गहनाले छपक्कै ढाकिएको देखिन्थे । पछिल्ला दशकमा भने यस्तो गरगहना लगाउने सीमित मात्र देखिने गरेका छन् ।

सो समुदायका महिलाले सुनभन्दा चाँदीका गरगहनाको प्रयोग परम्परागतकालदेखि गर्दै आए पनि आधुनिकतासँगै हाल सुनका गहनाको प्रयोगमा बढी जोड दिन थालिएको छ । परम्परागत गहना लगाउने महिला पनि घट्दै गएको समुदायका अगुवाको भनाइ छ ।

आधुनिकताको प्रवेशसँगै बढेको देखासेखीको प्रवृत्ति देखिँदा परम्परागत गरगहना संरक्षण सम्वद्र्धन गर्नमा समस्या भइरहेको जनाइएको छ । “महिलाले खुट्टामा लगाउने पंैडा शृङ्गारको साधन मात्रै नभएर शत्रुको सम्भावित आक्रमणबाट बाँच्नका लागि प्रयोग हुने हतियारको साधनका रुपमा समेत लिइन्थ्यो”, कञ्चनपुरकी सुवनी रानाले भन्नुभयो ।

महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, त्यसपछि हसुला, सकरगरेला र हाल लगाउने गर्छन् । पाखुरामा लगौरा, नाडीमा पहुँची, औंँलामा कलात्मक औंँठी, कम्मरमा सिक्रीवाला कैंधनी, पैंतलामाथि ढुन्नी, ढुन्नीको तल पैंडा र पायल लगाउने गर्छन् । गर्धनमा कण्ठ, गरिया र घिच्ची लगाउने गरेका छन् । उनीहरु पाखुरामा थडुवा, अँगियामाथि पैसाको माला पतुही तथा पाखुरा र कम्मरमा चालासमेत लगाउने गर्छन् । यी परम्परागत गहना हाल सीमित महिलासँग मात्रै सुरक्षित छन् । “टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, करेहाओमा घँघरिया र खुट्टामा पैणा लगाएको महिलालाई त्यति बेलाको समाजमा उच्च सम्मान गरिन्थ्यो”, स्थानीयवासी श्यामचरण रानाले भन्नुभयो, “त्यस्तो पहिरन र गहना लगाउने महिलालाई सभ्य र संस्कारयुक्त भएको महिलाका रुपमा चित्रण गरिन्थ्यो ।‘‘

यी पहिरन लगाएका महिलालाई आज पनि निकै सभ्य र संस्कारी संज्ञा दिने गरिन्छ । महिलाले तीज र भदौ महिनामा झिँझीँ, कात्तिकमा दिवारी, फागुन महिनामा होरी मनाउ लगाउँछन् । जेठमा मगनी गरी पुस र माघमा विवाह गर्ने चलन यो समुदायमा विद्यमान छ । चैतमा खखडेहरा र चराई मनाउने गर्छन् । वैशाखी चराईमा नवविवाहित बेहुलीको परिवारका सदस्यसंँग परिचय गराउनका लागि बुझकिया(सानो जङ्गल)मा पुगेर चराईचर्न(वनभोज)मा जाने चलनसमेत छ । सो समुदायका महत्वपूर्ण चाडपर्व, चलन र विवाहमा महिलाले परम्परागत गहना र पहिरन लगाउने गर्छन् ।

परिकार गुलगुला र बाबरो राना थारु समुदायको मुख्य परिकारका रुपमा दालभात, रोटी, तरकारी, माछा भए पनि मुख्य चाडपर्वमा मिसौला फरा, कतरा, गुलगुला, खजुरिया, बाबरो, सेउ, पतौला, भरुवा करेला, पतौला सिमहीलगायत छन् । कैलालीका गेटा, उर्मा, चौमाला, मालाखेती, बेलादेवीपुर, श्रीपुर, गदरैया, धनगढी उपमहानगरपालिका र कञ्चनपुरका देखतभूली, शङ्करपुर, नन्दगाउँ, लक्ष्मीपुर, झलारी कन्ज, कस्वाँ कालागौढी, कलुवापुर, कृष्णपुरलगायत ठाउँमा सो समुदायको बाक्लो बसोबास छ । दुवै जिल्लामा गरी सोे समुदायको झण्डै ११० गाउँ रहेको बताइएको छ ।

राना थारु समुदायको कति जनसङ्ख्या छ भन्ने बारेमा हालसम्म छुट्टै गणना नगरिए पनि सो समुदायको भाषा बोल्नेको सङ्ख्या झण्डै तीन लाख अनुमान छ । कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायले वर्षाैँदेखि उठाउँदै आएको रानाथारु समुदायको सूचीकरणको विषयले पछिल्लो पटक वैधानिकता पाएको छ ।

सरकारले रानाथारु समुदायलाई आदिवासी जनजातिको ६० औंँ स्थानमा सूचीकृत गरेको छ । रानथारु समुदाय पहिचान जोगाउनका लागि भाषा, संस्कृति, चाडपर्व, पहिरन र गहना संरक्षणका लागि समेत कार्य अगाडि बढ्नेमा ढुक्क छ । “पहिचान पाए पनि संस्कृति संरक्षणका लागि सरकारले चासो दिनुपर्छ”, राना थारु समुदायका अगुवा भन्छन्, “यसका लागि राना थारु समुदायको छुट्टै जनगणना गरिनुपर्छ ।”